तपाईँ सुन्दै हुनुहुन्छः

बेलौरीमा १६औँ नगर स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता सुरु

कञ्चनपुर । कञ्चनपुरको बेलौरी नगरपालिकामा १६औँ नगर स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता सुरु भएको छ । बेलौरी नगरपालिकाको आयोजनामा मङ्गलवार दिउँसो आयोजित उद्घाटन समारोहसँगै प्रतियोगिता औपचारिक रूपमा प्रारम्भ गरिएको हो । 

नगरपालिका भित्रका २५ वटा सामुदायिक तथा संस्थागत विद्यालयहरूको सहभागिता रहेको मूल आयोजक समितिका सचिव तथा बेलौरी नगरपालिका शिक्षा, युवा तथा खेलकुद शाखाका प्रमुख अमित प्रसाद भट्टले जानकारी दिनुभयो । प्रतियोगिता अन्तर्गत मङ्गलवार भएको मार्च पासमा पशुपति शिक्षा मन्दिर प्रथम भएको छ । अन्य विभिन्न प्रतिस्पर्धात्मक खेलहरू जारी छन् । प्रतियोगिताले विद्यालय तहका खेलाडीहरूलाई आफ्नो प्रतिभा प्रदर्शन गर्ने अवसर प्रदान गरेको छ ।

उद्घाटन समारोहका प्रमुख अतिथि सुदूरपश्चिम प्रदेश सभा सदस्य दिवान सिंह बिष्टले कार्यक्रममा बोल्दै राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताले विद्यालय तहदेखि नै खेलकुद प्रतिभा पहिचान र विकासमा महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो । उहाँले खेलकुदले अनुशासन, प्रतिस्पर्धाको भावना र नेतृत्व विकासमा सहयोग पुर्‍याउने उल्लेख गर्दै पढाइसँगै खेलकुदलाई पनि समान महत्व दिनुपर्ने आवश्यकता औँल्याउनु भयो । साथै उहाँले प्रदेश सरकार खेलकुद पूर्वाधार विकास र प्रतिभा उत्पादनका लागि स्थानीय तहसँग सहकार्य गर्न तयार रहेको बताउनु भयो ।

कार्यक्रमका संयोजक तथा बेलौरी नगर खेलकुद समितिका अध्यक्ष रामेश्वर न्यौपानेले १६औँ नगर स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगितामा सामुदायिक र संस्थागत विद्यालयको उत्साहजनक सहभागिता रहेको जानकारी दिनुभयो । उहाँले नगर भित्रका विद्यार्थीहरूलाई समान अवसर दिने उद्देश्यले प्रतियोगिता सञ्चालन गरिएको बताउँदै मार्च पाससहित विभिन्न खेल विधामा प्रतिस्पर्धा भइरहेको उल्लेख गर्नुभयो । खेलकुदले विद्यार्थीहरूको शारीरिक, मानसिक तथा सामाजिक विकासमा टेवा पुग्ने उहाँको भनाइ छ । नगर स्तरीय प्रतियोगिताबाट छनोट भएका खेलाडीहरू आगामी जिल्ला तथा प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी हुने आयोजकले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button