मौलापुर नगरपालिकामा सामुदायिक विद्यालयको दिवा खाजा कार्यक्रम प्रभावकारी
रौतहट । रौतहटको मौलापुर नगरपालिका अन्तर्गतका सामुदायिक विद्यालयमा दिवा खाजा कार्यक्रम प्रभावकारी बन्दै गएको छ । देशभर सामुदायिक विद्यालयमा सञ्चालन हुँदै आएको दिवा खाजा कार्यक्रमको गुणस्तरमाथि प्रश्न उठिरहेका बेला रौतहटको मौलापुर नगरपालिकाले शिक्षालाई पहिलो प्राथमिकतामा राख्दै उदाहरणीय अभ्यास गरिरहेको हो । नगरपालिकाको शिक्षा शाखाले तयार पारेको तालिकाअनुसार नियमित, पारदर्शी र गुणस्तरीय दिवा खाजा कार्यक्रम सञ्चालन हुँदै आएको शिक्षा शाखाले जनाएको छ।
मङ्गलवार मौलापुर नगरपालिका–३ स्थित श्री माध्यमिक विद्यालयमा विद्यार्थीहरूलाई शुद्ध दुधबाट तयार गरिएको खिर खुवाइएको विद्यालयले जनाएको छ । विद्यालयका प्रधानाध्यापक चन्देश्वर साहले तालिकाअनुसार कहिले खिर, कहिले चना–चिउरा, मासु–चिउरा तथा अण्डा खुवाइँदै आएको बताउनुभयो । यसले विद्यार्थीको पोषण स्तर सुधार गर्नुका साथै विद्यालयमा नियमित उपस्थिति बढाउन सहयोग पुगेको उहाँको भनाइ छ ।
नगरपालिकाका शिक्षा सह–संयोजक धर्मेन्द्र कुमार साहले दिवा खाजा कार्यक्रम पूर्ण रूपमा अनुशासित र पारदर्शी ढंगले सञ्चालन भइरहेको जानकारी दिनुभयो । नगरप्रमुख रिना कुमारी साहले मौलापुर नगरपालिकाले कुल बजेटको करिब ४० प्रतिशत शिक्षा क्षेत्रमा लगानी गर्दै आएको बताउनुभयो । २०७४ सालमा दुईवटा मात्र माध्यमिक विद्यालय रहेकामा हाल ६ वटा माध्यमिक विद्यालय सञ्चालनमा रहेको उहाँले जानकारी दिनुभयो ।
शिक्षक अभाव समाधानका लागि नगरपालिकाले आफ्नै स्रोतबाट एक सयभन्दा बढी नगर शिक्षक नियुक्त गरेको नगरप्रमुख साहले बताउनुभयो । हालसम्म १५० भन्दा बढी कक्षा कोठा निर्माण भई शैक्षिक पूर्वाधार सुदृढ बन्दै गएको उहाँको भनाइ छ ।
यसैबीच प्रमुख प्रशासकीय अधिकृत रामबाबु साहले छोरी–बुहारीका लागि सिभिल र जियोमेट्रिक इन्जिनियरिङ डिप्लोमा तह शतप्रतिशत निःशुल्क व्यवस्था गरिएको जानकारी दिनुभयो । छात्रहरूका लागि २५ प्रतिशत छात्रवृत्ति प्रदान गरिँदै आएको उहाँले बताउनुभयो । समग्रमा मौलापुर नगरपालिका सामुदायिक शिक्षाको क्षेत्रमा अन्य स्थानीय तहका लागि अनुकरणीय उदाहरण बन्दै गएको स्थानीय बासिन्दाहरूको भनाई छ ।






प्रतिक्रिया राख्नुहोस्