मंसिरसम्म राजस्व सङ्कलन लक्ष्यभन्दा कम, प्राप्ति ७८.७४ प्रतिशत
काठमाडौँ। आर्थिक वर्ष २०८२/८३ को मंसिर महिनासम्म सरकारले लक्ष्यअनुसार राजस्व सङ्कलन गर्न सकेको छैन। राजस्व व्यवस्थापन सूचना प्रणालीका अनुसार मंसिर २९ गतेसम्म कुल ४ खर्ब ९ अर्ब ७८ करोड रुपैयाँ राजस्व सङ्कलन भएको छ, जुन मंसिरसम्मको लक्ष्यको ७८.७४ प्रतिशत मात्र हो।
चालु आर्थिक वर्षका लागि सरकारले १४ खर्ब ८० अर्ब रुपैयाँ वार्षिक राजस्व सङ्कलन गर्ने लक्ष्य लिएको छ। यसमध्ये मंसिरसम्मका लागि ५ खर्ब २० अर्ब ४४ करोड रुपैयाँ लक्ष्य तोकिएको थियो।
मंसिर महिनाका लागि मात्रै ९५ अर्ब २० करोड रुपैयाँ राजस्व उठाउने लक्ष्य रहेकामा ८० अर्ब २७ करोड रुपैयाँ सङ्कलन भएको छ, जुन लक्ष्यको ८४.३१ प्रतिशत हो। मंसिर २९ गते एकै दिनमा ३ अर्ब ४४ करोड रुपैयाँ राजस्व सङ्कलन भएको थियो।
गत आर्थिक वर्ष २०८१/८२ को सोही अवधिमा भने वार्षिक लक्ष्य १४ खर्ब १९ अर्ब ३० करोड रुपैयाँ रहेको थियो। त्यस वर्ष मंसिरसम्मको लक्ष्य ४ खर्ब ९५ अर्ब २ करोड रुपैयाँ रहेकामा मंसिर २९ गतेसम्म ४ खर्ब ५ अर्ब ७७ करोड रुपैयाँ राजस्व सङ्कलन भएको थियो। मंसिर महिनामा मात्र ७६ अर्ब ७६ करोड रुपैयाँ राजस्व उठेको देखिन्छ।
चालु आर्थिक वर्षमा मंसिर महिनाको राजस्व सङ्कलन अघिल्लो वर्षको तुलनामा केही बढे पनि समग्र लक्ष्यको तुलनामा प्रगति सन्तोषजनक देखिँदैन।







प्रतिक्रिया राख्नुहोस्