रेडपान्डा म्याराथनको तयारी पुरा
इलाम । इलाममा मङ्गलवार हुने ‘रेडपान्डा म्याराथन’ को सम्पुर्ण तयारी भएको आयोजकले जनाएको छ । विश्वकै दुर्लभ वन्यजन्तु रेडपान्डा संरक्षणबारे जनचेतना जगाउने उद्देश्य सहित दीपज्योति युवा क्लबको आयोजनामा म्याराथन हुन लागेको आयोजक क्लबका संयोजक राम रिमालले बताउनुभयो ।

इलाम बजारबाट जिल्लाकै अग्लो डाँडो सन्दुकपुरसम्म म्याराथन आयोजना गरिने भएको छ । म्याराथनको लागि सम्पुर्ण तयारी पूरा भएको रिमालले बताउनुभयो । संयोजक रिमालका अनुसार भोलि बिहान ७ बजे इलाम चोक बजारमा इलाम नगरपालिका प्रमुख केदार थापाले उद्घाटन गर्ने तयारी भएको छ ।
रेडपाण्डा म्याराथन इलाम नगरपालिका ७ इलाम चोक बजार १२ सय २० मि उचाइदेखि सुरु गरि जिल्लाको अग्लो स्थान सन्दकपुर गाउँपालिकाको सन्दकपुर डाँडास्थित ३६ सय १० मिटर उचाई सम्मको ४४.२ कि. मि दुरी सम्मको हुने आयोजकले जनाएको छ ।
पुरुष खुला, महिला खुला र स्थानीय (इलाम, पाँचथर ताप्लेजुङ) गरी तीन विधाका विजयी धावकले पुरस्कार पाउनेछन् । खुलामा पुरुष र महिलातर्फ पुरस्कार राशि बराबर छ । पहिलो हुनेले डेढ लाख, दोस्रोले एक लाख, तेस्रोले ५० हजार र चौथोले ३० हजार रुपैयाँ पाउने आयोजक संस्थाले जनाएको छ ।
म्याराथनमा सहभागीलाई म्याराथन सुरु भएपछि स्वास्थ्यकर्मी सहितको टोलीले निगरानी गर्नेछ । म्याराथनको लागि इलाम नगरपालिका र सन्दकपुर गाउँपालिका समेत बजेट बिनियोजन गरेका छन् ।
विश्वमा दुर्लभ वन्यजन्तु रेडपान्डाको सङ्ख्या नेपालमा एक हजार रहेको अनुमान छ । पूर्वी पहाडका इलाम, पाँचथर, ताप्लेजुङ लगायत भारतीय सीमावर्ती क्षेत्रमा रेडपान्डा पाइन्छ ।








प्रतिक्रिया राख्नुहोस्