तपाईँ सुन्दै हुनुहुन्छः

कारसहित १५० किलो गाँजा बरामद, दुई जना पक्राउ

सुनसरी। सुनसरीको बराहक्षेत्र नगरपालिका–३ नडाहा सडक खण्डबाट कारसहित ठूलो परिमाणमा गाँजा बरामद गरिएको छ ।

सशस्त्र प्रहरी बल र नेपाल प्रहरीको संयुक्त टोलीले गाँजा बोकेको कार नियन्त्रणमा लिँदै दुई जनालाई पक्राउ गरेको हो ।

सशस्त्र प्रहरी बल चतरा सुरक्षा बेसका प्रहरी निरीक्षक दीपक नापित र प्रहरी चौकी नडाहाका प्रहरी सहायक निरीक्षक जीवनारायण भट्टको नेतृत्वमा खटिएको टोलीले धरानबाट आउँदै गरेको कार चेकजाँच गर्ने क्रममा कारभित्र लुकाइ राखिएको १५० किलो गाँजा बरामद गरेको हो ।

सशस्त्र प्रहरी बल ४ नम्बर गण हेडक्वाटर सुनसरीका प्रमुख निर्मल थापाका अनुसार पक्राउ पर्नेमा विराटनगर महानगरपालिका–५ का सचिन मेहता र इटहरी उपमहानगरपालिका–१७ का करण साह रहेका छन् ।

पक्राउ परेका व्यक्ति, कार तथा बरामद गाँजालाई आवश्यक अनुसन्धान तथा कानुनी कारबाहीका लागि सम्बन्धित निकायमा बुझाइएको सशस्त्र प्रहरीले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button