कपुरकोट–निगालपानी सडकमा टिपर सञ्चालनमा रोक

सल्यान । सल्यानको कपुरकोट र रोल्पाको निगालपानी जोड्ने सडकमा स्थानीयले टिप्पर सञ्चालनमा रोक लगाएका छन् ।
सिमेन्ट उद्योगका टिपरका कारण सडक धुलाम्य भएपछि स्थानीय आन्दोलित भएका छन् ।
सडक कालोपत्रे गरिनुपर्ने माग राखेर सगरमाथा सिमेन्ट र रोल्पा सिमेन्ट उद्योगका टिपर सञ्चालनमा स्थानीयले रोक लगाएका छन् ।
कम्पनीसँग भएका पटक पटकका सम्झौता कार्यान्वयन नभएको र धुलो धुवाले दैनिक कामकारबाही प्रभावित भएकाले टिपर सञ्चालनमा रोक लगाएको मिलन बजार व्यवस्थापन समितिका अध्यक्ष अमर बहादुर बिकले बताउनुभयो ।
उहाँले सडक कालोपत्रे नहुँदासम्म टिपर कुनै पनि हालतमा सञ्चालन हुन नदिने बताउनुभयो । “धुलो धुवाँ अत्यधिक छ, जसले गर्दा निकै समस्या भएको छ । अब सडक कालोपत्रे नहुँदासम्म टिपर चल्न दिँदैनौँ।”, उहाँले भन्नुभयो ।
कपुरकोट–निगालपानी सडक ११ किलोमिटर छ । यस सडकमा सगरमाथा सिमेन्ट र रोल्पा सिमेन्ट उद्योगका टिपर गुड्ने गर्दछन् । दुवै सिमेन्ट उद्योगले सडक मर्मत गर्ने, बिहान र बेलुका विद्यार्थी आवतजावत गर्ने समयमा टिपर नचलाउने सहमति गरे पनि कार्यान्वयन नगरेको स्थानीयको गुनासो छ ।
सिमेन्ट उद्योगले गरेका सहमति कार्यान्वयन नगरेपछि टिपर बन्द गरेर आन्दोलनमा उत्रिनुपरेको मिलन बजार युवा क्लबका अध्यक्ष झलक वलीले बताउनुभयो ।
कपुरकोट–निगलापानी सडकमा बजेट परे पनि विभिन्न बहानामा अन्यत्र लगिएको स्थानीयको गुनासो छ ।
कपुरकोट कर्णाली प्रदेशमा पर्छ भने निगालपानी लुम्बिनी प्रदेशमा पर्छ । रोल्पाको पश्चिमी क्षेत्रका अधिकांश नागरिक सल्यान श्रीनगर, दाङको तुलसीपुर, नेपालगञ्ज, सुर्खेत लगायतका ठाउँमा आवतजावत गर्न कपुरकोट–निगालपानी सडक नै प्रयोग गर्नुपर्छ ।
तर सडकमा सिमेन्ट उद्योगका ठुला भारबहन क्षमता भएका टिपर चलेका कारण अहिले सडक खाल्डाखुल्डी भएको छ । हिउँदमा धुलो र वर्षामा हिलोको समस्यामा रहेको भन्दै स्थानीयले आन्दोलनलाई सशक्त बनाउने चेतावनी जारी गरेका छन् ।
सङ्घीय सरकारले यसअघि पनि कपुरकोट–रामपुर सडकका लागि ८ करोड बजेट विनियोजन गरेको थियो । तर बजेट कार्यान्वयन गर्ने समयमा कपुरकोटदेखि निगालापानी सडक कर्णाली प्रदेशमा पर्ने भन्दै रोल्पाको निगालपानीलाई नै मुख्य बिन्दु मानेर स्तरोन्नतिको काम सुरु भएपछि यो सडक अहिले अलपत्र अवस्थामा छ ।
कपुरकोट–निगालपानी सडकलाई स्तरोन्नतिको लागि पटक पटक पहल गरे पनि सङ्घ र प्रदेश सरकारका प्राथमिकतामा पर्न नसक्दा स्थानीयले सास्ती पाएको कपुरकोट गाउँपालिका अध्यक्ष दुर्गा बहादुर पुनले बताउनुभयो ।
उहाँले स्थानीयको मागप्रति आफू पनि गम्भीर भएको र सिमेन्ट उद्योगले पनि गरेका सहमति कार्यान्वयन गर्न नसकेको बताउनुभयो ।








प्रतिक्रिया राख्नुहोस्