देशलाई समाजवादतर्फ उन्मुख गराउनुपर्छ : नेता खनाल
काँक्रेविहार (सुर्खेत) । नेपाली कम्युनिष्ट पार्टीका नेता झलनाथ खनालले देशलाई समाजवादतर्फ उन्मुख गराउनुपर्नेमा जोड दिनुभएको छ ।
आज यहाँ आयोजित नेकपाको ‘एकता सन्देश सभा’मा उहाँले देशको विकासका खातिर समाजवाद आवश्यक भएको बताउनुभयो ।
पूर्व प्रधानमन्त्री खनालले मुलुकमा विदेशी हस्तक्षेप बढेको र राष्ट्रिय स्वाधीनतामाथि प्रश्न उठेकाले हरेक नागरिक राष्ट्र र राष्ट्रियताप्रति गम्भीर हुनुपर्छ भन्नुभयो ।
फरक प्रसङ्गमा उहाँले भन्नुभयो, “पुँजीवादको अन्त्य र भ्रष्टाचारको अन्त्य गर्न सबै कम्युनिष्ट मिलेर समाजवाद स्थापना गर्नुको विकल्प छैन ।”
सोही पार्टीका नेता नारायणकाजी श्रेष्ठले जनताको पार्टी नेकपा भएकाले यसलाई भ्रष्टाचार नगर्नेहरूको पार्टीका रूपमा स्थापित गर्नुपर्ने बताउनुभयो ।
उहाँले सबैलाई एकताबद्ध गराउनुपर्नेमा जोड दिँदै मजदुर, जनजाति, दलितलाई एकताबद्ध गरेर अगाडि बढ्नुपर्छ भन्नुभयो । उहाँले देशलाई राजनीतिक रूपमा निकास दिन नेकपाको उदय भएको बताउनुभयो ।








प्रतिक्रिया राख्नुहोस्