तपाईँ सुन्दै हुनुहुन्छः

‘देशमा सामाजिक न्याय र सुशासनसहित आर्थिक क्रान्ति जरुरी छ’

पोखरा । नेपाल सरकारका भौतिक पूर्वाधार तथा यातायात, सहरी विकास र ऊर्जा जलस्रोत तथा सिँचाई मन्त्री कुलमान घिसिङले देशमा स्थायित्वको लागि आर्थिक क्रान्ति जरुरी रहेको बताउनुभएको छ । उज्यालो नेपाल पार्टीको गण्डकी प्रदेश स्तरीय भेलालाई पोखरामा शनिबार सम्बोधन गर्दै उहाँले देशमा स्थायित्वको लागि आर्थिक क्रान्ति सहित सामाजिक न्याय र सुशासन कायम हुनु पर्नेमा जोड दिनुभयो ।

भ्रष्टाचारमुक्त, सुशासन कायम भएमा धेरै समस्या समाधान हुने तर्क दिँदै उहाँले अब बोलेर नभई एक्सनमा जानुपर्ने समय आएको बताउनुभयो । देशमा विकासको अर्को बाधक एन कानून तथा नियम रहेको उल्लेख गर्दै मन्त्री घिसिङले जनताको हित विपरीतका कानुनहरू अब पूर्ण रुपमा खारेज गरी अघि बढ्नुपर्ने धारणा व्यक्त गर्नुभयो । सही समयमा सही व्यक्तिहरू नेतृत्वमा पुग्न नसक्दा देशमा अपेक्षित परिवर्तन र विकासले गति लिन नसकेको मन्त्री घिसिङको भनाई थियो । जेनजी आन्दोलनले सरकार परिवर्तन गराए पनि देशको सिस्टम र व्यवस्था परिवर्तन हुन नसकेको उहाँले उल्लेख गर्नु भयो । 

पोखराको सौन्दर्यता र कनेक्टिभिटीलाई प्राथमिकतामा राखेर सरकार अघि बढिरहेको बताउँदै मन्त्री घिसिङले पोखरामा पटक–पटक विद्युत् लाइन काटिने समस्या अब नदोहोर्‍याउने गरी व्यवस्थापनको काम अगाडि बढेको जनाउनुभयो ।  

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको विषयमा मन्त्री घिसिङले निर्माण सम्पन्न भइसकेपछि त्यसबाट अन्तर्राष्ट्रिय उडान सञ्चालनका लागि आवश्यक पहल गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो । कनेक्टिभिटी विस्तार गर्न सके पोखरामा पर्यटक आगमन उल्लेखनीय रूपमा बढ्ने उहाँको विश्वास छ । 

ठेक्का अलपत्र छाड्दा रोजगारी सिर्जना नहुने उल्लेख गर्दै मन्त्री घिसिङले आर्थिक विकास बिना रोजगारी सम्भव नरहेको बताउनुभयो । विकासका क्रममा चुनौती लिनैपर्ने धारणा राख्दै उहाँले भोट बैङ्कको डरले विकास रोकिन नहुने स्पष्ट पार्नुभयो । 

घिसिङकै संरक्षकत्वमा गठन भएको उक्त पार्टीमा गण्डकी प्रदेशभरका युवाहरूको उल्लेखनीय उपस्थिति रहेको पार्टीका केन्द्रीय सदस्य कुशल गुरुङले जानकारी दिनुभयो । कार्यक्रममा पोखराकी पर्यटन व्यवसायी लक्की क्षेत्रीले देशमा आफूहरूले आर्थिक विकास र समृद्धिको नारा मात्र सुन्नुपरेको गुनासो गर्दै अब देशमा विकास चाहेको जनाउनुभयो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button