तपाईँ सुन्दै हुनुहुन्छः

दुई दिवसीय प्रथम रिठेपानी जुनियर तेक्वान्दो प्रतियोगिता सम्पन्न

कास्की । ‘शक्ति, अनुशासन र आत्मरक्षाको प्रतीक तेक्वान्दो’ भन्ने नाराका साथ दुई दिवसीय प्रथम रिठेपानी जुनियर तेक्वान्दो प्रतियोगिता २०८२ पोखरा महानगरपालिका वडा नं २७ अर्घौचोकमा भव्य रूपमा सम्पन्न भएको छ ।

रिठेपानी तेक्वान्दो डोजाङ लेखनाथ क्लबको आयोजनामा सम्पन्न प्रतियोगितामा कास्की जिल्लाभरिका निजी तथा सामुदायिक डोजाङबाट सहभागी १६ वर्षमुनिका १८० जना खेलाडीहरू सहभागी भएका थिए । प्रतियोगितामा १३ वटा टिमले सहभागिता जनाएका थिए ।

दुई दिनसम्म चलेको प्रतियोगितामा खेलाडीहरूमा उत्साहजनक उपस्थिति देखिएको थियो । प्रतियोगिताका सम्पूर्ण खेलाडीहरूलाई मेडल तथा प्रशंसा पत्र प्रदान गरी सम्मान गरिएको कार्यक्रम संयोजक अस्मित लामाले जानकारी दिनुभयो ।

कार्यक्रमका प्रमुख अतिथि पोखरा महानगरपालिका वडा नं २७ का वडा अध्यक्ष पूर्णकुमार गुरुङले खेलकुदमा अनुशासन र नियमको पालना अत्यन्त आवश्यक रहेको बताउनुभयो । उहाँले खेलाडीहरू नियम र परिधिभित्र रही खेल्नुपर्नेमा जोड दिँदै वडाको तर्फबाट खेलकुद गतिविधिमा सदैव सहयोग रहने प्रतिबद्धता व्यक्त गर्नुभयो । 

कार्यक्रममा लेखनाथ उद्योग वाणिज्य सङ्घकी अध्यक्ष जानुका पराजुली अधिकारीले पहिलो पटक आयोजना गरिएको जुनियर तेक्वान्दो प्रतियोगिताले भविष्यका खेलाडी उत्पादनमा महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो । यसले बालबालिकाको शारीरिक, मानसिक तथा बौद्धिक विकासमा सकारात्मक प्रभाव पार्ने उहाँको भनाइ थियो ।

त्यसैगरी कास्की जिल्ला तेक्वान्दो संघका अध्यक्ष कुमार गुरुङ, लेखनाथ नेवा: खलका अध्यक्ष प्रकाशलाल श्रेष्ठ, राइजिङ युवा क्लबका निवर्तमान अध्यक्ष विष्णु गुरुङ, समाजसेवी रामनरेश यादव, लेखनाथ युवा क्लबका अध्यक्ष वालगोपाल श्रेष्ठ, सचिव सन्दिप थापा लगायतका वक्ताहरूले खेलकुदमार्फत समाज परिवर्तन सम्भव हुने, युवाहरूलाई अनुशासनमा बाँध्न सकिने तथा स्वास्थ्य र तन्दुरुस्तीमा योगदान पुग्ने धारणा व्यक्त गर्नुभयो ।

स्थानीय तह, संघ–संस्था तथा अभिभावकहरूको उल्लेखनीय सहभागितासहित सम्पन्न प्रतियोगिताले पोखरा–लेखनाथ क्षेत्रको खेलकुद विकासमा थप ऊर्जा प्रदान गरेको आयोजकले जनाएको छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button