तपाईँ सुन्दै हुनुहुन्छः

वन पैदावार उद्योग प्रवर्द्धनबाट आयात प्रतिस्थापन र रोजगारी सृजनामा जोड

कञ्चनपुर । वन पैदावारमा आधारित उद्योगलाई राष्ट्रिय अर्थतन्त्रको महत्त्वपूर्ण आधारका रूपमा विकास गर्न नीतिगत स्पष्टता, लगानीमैत्री वातावरण र सङ्घीय(प्रदेश(स्थानीय तहबिच प्रभावकारी समन्वय आवश्यक रहेको सरोकारवालाहरूले औँल्याउनु भएको छ ।

नेपाल वन पैदावार उद्योग व्यवसायी सङ्घ कञ्चनपुरको नवौँ वार्षिक साधारण सभा तथा तेस्रो अधिवेशनका वक्ताहरूले वन पैदावार उत्पादन वृद्धि, उद्यम विकास र आयात प्रतिस्थापनलाई राष्ट्रिय आर्थिक नीतिको प्राथमिकतामा राख्नुपर्नेमा जोड दिनु भएको हो । 

“वन पैदावारको उत्पादन वृद्धि र उद्यम विकास गरौँ, आयात प्रतिस्थापन गरी आत्मनिर्भर बनौँ” भन्ने मूल नारासहित आयोजित अधिवेशनको उद्घाटन गर्दै उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयका सचिव दीर्घनारायण कोइरालाले वन पैदावारमा आधारित उद्योगले रोजगारी सिर्जना, वैदेशिक मुद्रा बचत र ग्रामीण अर्थतन्त्र सुदृढीकरणमा योगदान पुर्‍याउने बताउनुभयो । उहाँले वन पैदावारको वैज्ञानिक व्यवस्थापन, कच्चा पदार्थको सहज आपूर्ति र निजी क्षेत्रमैत्री नीति बिना आयात प्रतिस्थापन सम्भव नहुने उल्लेख गर्नुभयो ।

नेपाल वन पैदावार उद्योग व्यवसायी महासङ्घका केन्द्रीय सदस्य सिद्धराज पाण्डेले हालको वनसम्बन्धी कानुन, कर संरचना र अनुमति प्रक्रियाले उद्यम विस्तारमा अवरोध सिर्जना गरिरहेको बताउँदै एकद्वार प्रणाली, दीर्घकालीन नीति स्थिरता र लगानी सुरक्षाको आवश्यकता औँल्याउनुभयो । उहाँका अनुसार स्वदेशमै प्रशोधन उद्योग विस्तार गर्न सके काष्ठ तथा गैरकाष्ठ वन पैदावारको आयात उल्लेख्य रूपमा घटाउन सकिन्छ । नेपाल बार काउन्सिलका निवर्तमान पार्षद् एवम् अपिनाम्पा संरक्षित क्षेत्रका प्रमुख संरक्षण अधिकृत अमर सिंह धामीले संरक्षण र उपयोगबिच सन्तुलन कायम गर्ने नीति अपरिहार्य रहेको बताउनुभयो । उहाँले वातावरणीय दिगोपनासँग मेल खाने गरी उद्योग प्रवर्द्धन गर्न सके वन क्षेत्र आर्थिक समृद्धिको प्रमुख स्रोत बन्न सक्ने धारणा व्यक्त गर्नुभयो ।

कार्यक्रममा डिभिजन वन कार्यालय कञ्चनपुरका डिभिजन वन अधिकृत सुरेशचन्द्र डिसी, वरिष्ठ वन अधिकृत भरत शाह, दिनेशकुमार यादव, पारिवारिक निजी वन सङ्घ नेपालका केन्द्रीय कमिटी सचिवालय सदस्य लक्ष्मण बहादुर कार्की लगायतले सङ्घीय संरचनाअनुसार वन पैदावार व्यवस्थापन, निजी वन प्रवर्द्धन र स्थानीय तहको भूमिकाबारे धारणा राख्नुभयो । वक्ताहरूले नीति कार्यान्वयनमा देखिएका द्वन्द्व, ढिलासुस्ती र अस्पष्टताले उद्योगलाई प्रभावित गरिरहेको निष्कर्ष निकाल्नुभयो । 

नेपाल वन पैदावार उद्योग व्यवसायी सङ्घ कञ्चनपुरका अध्यक्ष गजेन्द्र विक्रम थापाको सभाध्यक्षतामा आयोजित अधिवेशनमा काष्ठ व्यवसायी, वन पैदावार उद्योगी तथा सरोकारवालाहरूको उल्लेखनीय सहभागिता रहेको थियो । कार्यक्रममा उपाध्यक्ष कैलाश सुनारले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो भने सञ्चालन कोषाध्यक्ष मोहन रावलले गर्नुभएको थियो । अधिवेशन अन्तर्गत हुने निर्वाचनका लागि प्रमुख निर्वाचन अधिकृतमा प्रकाश बहादुर पाण्डेय तथा निर्वाचन अधिकृतमा लोचन सिंह कार्की र लक्ष्मण बहादुर कार्की रहनुभएको छ । प्रमुख निर्वाचन अधिकृत पाण्डेयका अनुसार अधिवेशनमा ५६ जना मतदाता रहनु भएको छ । उद्घाटन सत्रपछि सुरु हुने बन्द सत्रमा सङ्घको भावी नेतृत्व चयनसँगै वन पैदावार उद्योगलाई राष्ट्रिय उत्पादन प्रणालीसँग जोड्ने नीति तथा कार्य योजनाबारे महत्त्वपूर्ण निर्णयहरू हुने अपेक्षा गरिएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button