नदी कटान नियन्त्रणका लागि कृष्णपुर–२ नयाँबस्तीमा जैविक तटबन्ध निर्माण सुरु
कञ्चनपुर। कञ्चनपुरको कृष्णपुर नगरपालिका वडा नम्बर २ नयाँबस्तीस्थित बन्द नदी किनारमा वर्षेनी दोहोरिँदै आएको बाढी र कटानको जोखिम न्यूनीकरण गर्न जैविक तटबन्ध निर्माण कार्य सुरु गरिएको छ।

बर्खायाममा नदी कटान हुनुका साथै घरभित्र पानी पस्ने र स्थानीयवासी विस्थापित हुने अवस्था सिर्जना हुँदै आएको उक्त क्षेत्रमा प्रारम्भिक चरणमा २०० मिटर लम्बाईको जैविक तटबन्ध निर्माण गरिँदै छ । नेपाल राष्ट्रिय समाज कल्याण सङ्घ (एनएनएसडब्लुए)ले मर्सीकोर नेपालसँगको साझेदारीमा सञ्चालित समुदायका लागि जलवायु उत्थानशील कार्यक्रमअन्तर्गत कृष्णपुर नगरपालिका र वडा नम्बर २ को वडा कार्यालयसँगको सहकार्यमा तटबन्ध निर्माण सुरु गरेको हो ।

उक्त प्रभावित समुदायका स्थानीय निलम कार्कीले विगतका वर्षहरूमा बन्द नदीको बाढी घरभित्रै पसेर डुबान र कटानका कारण बसोबास नै असुरक्षित बनेको अनुभव सुनाउनु भयो । उहाँले भन्नुभयो, “बर्सात सुरु भएपछि घरभित्र पानी पस्ने, जग कटान हुने समस्या थियो । जैविक तटबन्ध बनेपछि अब केही राहत मिल्ने आशा पलाएको छ ।” बन्द नदी सामुदायिक विपद् व्यवस्थापन समिति नयाँबस्तीका अध्यक्ष शिव नेपालीले यस वर्षदेखि नदी नियन्त्रणका दिगो प्रयास सुरु भएको उल्लेख गर्दै जैविक तटबन्धले समुदायलाई दीर्घकालीन सुरक्षा दिने विश्वास व्यक्त गर्नुभयो । कृष्णपुर नगरपालिका वडा नम्बर २ का वडाध्यक्ष अर्जुनसिंह साउदले नदी कटानकै कारण वर्षेनी थुप्रै परिवार जोखिममा बस्न बाध्य भएको बताउनु भयो । “बर्खाको समयमा कतिपय परिवार विस्थापित हुनुपर्ने अवस्था आउँथ्यो । जैविक तटबन्ध निर्माणपछि अब समुदाय सुरक्षित हुने अपेक्षा गरेका छौँ,” उहाँले भन्नुभयो ।

यसैगरी मर्सीकोर नेपालका सुदूरपश्चिम प्रदेश संयोजक नवीनचन्द्र जोशीले जलवायु परिवर्तनका असर न्यूनीकरणमा यस्तो प्रकृतिमा आधारित समाधान प्रभावकारी हुने बताउनु भयो । उहाँका अनुसार जैविक प्रविधिबाट निर्माण गरिने तटबन्ध वातावरणमैत्री, दिगो र लागत अनुकूल हुनुका साथै स्थानीय स्रोत र श्रमको अधिकतम प्रयोग हुने विशेषता राख्छ । समुदायका लागि जलवायु उत्थानशील परियोजनाका संयोजक महेश घिमिरेले तथ्याङ्क विश्लेषण र स्थलगत अध्ययनपछि नयाँ बस्ती क्षेत्र जैविक तटबन्धका लागि अत्यावश्यक ठहर भएकाले काम अघि बढाइएको जानकारी दिनुभयो । “स्थानीय समुदायले जनश्रमदान गर्न तयार रहेको सक्रियता देखाएपछि परियोजना, वडा कार्यालय र समुदायको सहकार्यमा निर्माण कार्य सुरु गरिएको हो,” उहाँले भन्नुभयो ।









प्रतिक्रिया राख्नुहोस्