हेटौँडाको सडक विस्तार विरुद्धकाे मुद्दामा मिसिल झिकाउने आदेश
मकवानपुर । पूर्वपश्चिम राजमार्ग अन्तरगत बागमती प्रदेशको राजधानीसमेत रहेको हेटौँडा उपमहानगरपालिकाको बजार क्षेत्रमा भइरहेको सडक विस्तारविरुद्ध दायर रिटमाथि सर्वोच्च अदालतले मिसिल झिकाउने आदेश जारी गरेको छ । सर्वोच्च अदालतको इजलास नम्बर २ मा शुक्रबार भएको बहस तथा छलफलपछि विगतमा भएका निर्णयका सबै मिसिल झिकाई आगामी पुस २ गतेका लागि पेसी तोकिएको हो ।

डिभिजन सडक कार्यालय हेटौँडाको निर्णयविरुद्ध रास्वपा नेतृ तथा पूर्वसांसद विन्दवासिनी कंसकार लगायत ६ जनाले मङ्सिर १६ गते रिट दायर गर्नुभएको थियो । उक्त रिटमा अन्तरिम आदेश दिने कि नदिने भन्ने विषयमा सर्वोच्चको २ नम्बर बेन्चमा छलफल भएकोमा अन्तरिम आदेश दिन अस्वीकार गरिएको छ ।
शुक्रबार न्यायाधीश द्वय कुमार रेग्मी र न्यायाधीश महेश शर्मा पौडेलको संयुक्त इजलासले अन्तरिम आदेश नदिँदै रिटमा उठेका विषय, विगतका आदेशहरू तथा अदालतमा विचाराधीन अन्य सम्बन्धित मुद्दाका मिसिलहरू झिकाउन निर्देशन दिएको हो । अब पुस २ गते सबै मिसिल अध्ययन गरेर थप निर्णय हुने छ ।
यसैबीच, रिटमा अदालतको महानानीसम्बन्धी आरोपसमेत रहेकाले सो सम्बन्धमा समेत मिसिल झिकाइएको छ । सर्वोच्च अदालतका सूचना अधिकारी निराजन पान्डेका अनुसार आजको आदेश “अन्य” शीर्षकमा परेको छ । अब पुस २ गतेको पेसीपछि मुद्दाको आगामी दिशा स्पष्ट हुने अपेक्षा गरिएको छ ।






प्रतिक्रिया राख्नुहोस्