तपाईँ सुन्दै हुनुहुन्छः

अबको समय आर्थिक विकास र समृद्धिमै केन्द्रित गर्नुपर्छ : राष्ट्रपति पौडेल

काठमाडौँ । राष्ट्रपति रामचन्द्र  पौडेलले राजनीतिका लागि पटक पटक सङ्घर्षको दुष्चक्रबाट मुक्त भएर राजनीतिक परिवर्तनपछिको अबको समय आर्थिक विकास र समृद्धिमै केन्द्रित गर्नुपर्ने बताउनुभएको छ । नेपाल प्रजातन्त्र सेनानी सङ्घका पदाधिकारीहरूसँगको भेटमा राष्ट्रपति पौडेलले आर्थिक विकास र समृद्धिमै केन्द्रित गर्न राजनीतिक स्थायित्व र सुशासन पहिलो शर्त भएको पनि बताउनुभयो ।

उहाँले भ्रष्टाचारको अन्त्य गरी सुशासनका माध्यमबाट मुलुकको विकास गर्ने तथा सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई सुदृढ गर्नुपर्ने आजको आवश्यकता भएको उल्लेख गर्दै युवा पुस्ताको चाहना पनि यही नै भएको बताउनुभयो । उहाँले  मुलुकको विकास गर्ने तथा सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई सुदृढ फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा सदस्यको निर्वाचनलाई निर्बाध सम्पन्न गरी अहिलेको अवस्थालाई सहज निकास दिन आवश्यक रहेको स्पष्ट पार्नुभयो । 

राष्ट्रपति पौडेलले राजनीतिक परिवर्तनपछिको जनचाहना भनेको शान्ति, स्थायित्व र विकास भएको बताउँदै सामाजिक न्यायसहितको समयानुकूल आर्थिक नीति र कार्यक्रम बनाएर मुलुकको आर्थिक विकासको सपना साकार पार्नु मूल दायित्व भएको बताउनुभयो । 

राष्ट्रपति पौडेलले जनतालाई सार्वभौम बनाउन र उनीहरूका हक, अधिकार तथा स्वतन्त्रता सुनिश्चित गर्न प्रजातन्त्र सेनानीहरूको गर्विलो इतिहासको जगमा आज मुलुक उभिएको बताउनुभयो । उहाँले भन्नुभयो– ‘मुलुक सङ्घीय लोकतान्त्रिक गणतन्त्र स्थापनाको चरणसम्म आईपुग्नका लागि सहिद र प्रजातन्त्र सेनानीहरूले विगतमा पटक पटक गरेको कठोर सङ्घर्ष, त्याग र बलिदान सदैव स्तुत्य छ ।’

उहाँले लोकतान्त्रिक आदर्श, मूल्य मान्यता र निष्ठाका लागि प्रजातन्त्र सेनानीहरू अनवरत क्रियाशील रहेको उल्लेख गर्दै सङ्घीय लोकतान्त्रिक गणतन्त्रको सुदृढीकरणका लागि प्रजातन्त्रका सेनानीहरूको खबरदारी र योगदानको आज पनि उत्तिकै खाँचो रहेको बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button