सरकारी संरचनाको पुनः निर्माणलाई उच्च प्राथमिकता: मन्त्री घिसिङ

वीरगंज । ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकास मन्त्री कुलमान घिसिङले जेन–जी पुस्ताको आन्दोलनका क्रममा क्षति पुगेका सार्वजनिक तथा सरकारी संरचनाको पुनःस्थापना र पुनः निर्माणलाई उच्च प्राथमिकतामा राखी काम गर्न मातहतका निकायलाई निर्देशन दिनुभएको छ ।
मधेस प्रदेशका जिल्लाहरूमा अधुरा पूर्वाधार आयोजनाहरूको स्थलगत अनुगमन तथा बिकास निर्माणलाई अगाडी बढाउने सम्बन्धमा सरोकारवाला निकायसँग छलफलका लागि आज साँझ वीरगंज आईपुग्नु भएका मन्त्री घिसिङले सरकारी तथा सार्वजनिक संरचनाको पुनःस्थापना र पुनःनिर्माणका कामलाई तत्काल अगाडि बढाउन निर्देशन दिनुभयो ।
उहाँले सरकारको प्रमुख कार्यभार निर्वाचन रहेको हुँदा शान्तिपूर्ण रुपमा निर्वाचन सम्पन्न गर्नुका साथै विकास निर्माणलाई समेत पारदर्शी रुपमा अगाडी बढाइने बताउनुभयो ।
ऊर्जा मन्त्री घिसिङको दुई दिने मधेस भ्रमणको मुख्य उद्देश्य अलपत्र पूर्वाधार आयोजनाहरूको स्थलगत निरीक्षण, स्थानीयसँग प्रत्यक्ष संवाद तथा विकास र शान्तिको सन्देश प्रवाह गर्नु रहेको भ्रमणको समन्वय गरिरहनु भएका उज्यालो नेपाल पार्टीका केन्द्रीय सदस्य इन्जिनियर अरविन्द साहले बताउनुभयो ।
वीरगञ्ज आगमनपछि आज साँझ मन्त्री घिसिङले वीरगंज क्षेत्रका विभिन्न अधुरा पूर्वाधार आयोजनाहरूको अवलोकन गर्नुका साथै स्थानीय राजनीतिक नेतृत्व, सामाजिक अभियन्ता र युवाहरूसँग छलफल समेत गर्नुभएको छ ।
मन्त्री घिसिङले भोलि (शुक्रवार) बिहान बाराको कलैया देखि मटिअर्वा सम्मको बर्षाै देखि अलपत्र हुलाकी राजमार्ग खण्डको स्थलगत अवलोकन गरी समस्याको समाधानका लागि स्थानीयवासीसँग अन्तरक्रिया गर्ने कार्यक्रम समेत रहेको छ ।








प्रतिक्रिया राख्नुहोस्