तपाईँ सुन्दै हुनुहुन्छः

बुधबारदेखि सरकारले ‘मानसिक स्वास्थ्य सचेतना अभियान’ सञ्चालन गर्ने

काठमाडौँ । सरकारले बुधबारदेखि ‘मानसिक स्वास्थ्य सचेतना अभियान’ सञ्चालन गर्ने भएको छ । राष्ट्रिय स्वास्थ्य शिक्षा, सूचना तथा सञ्चार केन्द्रले आज यहाँ आयोजित पत्रकार सम्मेलनमा बुधबारदेखि फागुन ३० गतेसम्म तीन महिना अभियान सञ्चालन गर्ने जानकारी दिइएको हो । 

केन्द्रकी निर्देशक डा राधिका थपलियाले मानसिक स्वास्थ्य सचेतना फैलाउने उद्देश्यले अभियान सञ्चालन गर्न लागिएको बताउनुभयो । उहाँले ‘जेनजी’ प्रदर्शनपछि सबै वर्गमा तनाव थपिएको भन्दै अभियानले थोरै भए पनि त्यसमा सकारात्मक भूमिका खेल्ने बताउनुभयो । 

केन्द्रका वरिष्ठ जनस्वास्थ्य प्रशासक उपेन्द्र ढुङ्गानाले मानसिक स्वास्थ्यलाई समग्र स्वास्थ्यको अभिन्न हिस्साको रूपमा जनचेतना बढाउने उद्देश्यले अभियान थालिएको बताउँदै हरेक महिना फरक खालका विषयमा सचेतनाका कार्यक्रम गरिने जानकारी गराउनुभयो ।

विश्व स्वास्थ्य सङ्गठनका मनोचिकित्सक डा केदार मरहट्ठाले मानसिक स्वास्थ्यबारे खुलेर कुरा गर्नुपर्ने बताउनुभयो । उहाँले नेपालमा १० मध्ये एक जनामा मानसिक स्वास्थ्य समस्या रहने बताउँदै यो जनस्वास्थ्यमाथिको गम्भीर चुनौती भएको धारणा राख्नुभयो । 

नेपाल प्रहरीको तथ्याङ्कअनुसार आव २०८१/८२ मा सात हजार ५५ जनाले मानसिक समस्याका कारण आत्महत्या गरेको पनि त्यस अवसरमा जानकारी दिइयो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button