तपाईँ सुन्दै हुनुहुन्छः

उखुको न्यूनतम खरिद मूल्य प्रति क्विन्टल ६ सय २० निर्धारण

काठमाडौँ । सरकारले उखुको न्यूनतम खरिद मूल्य प्रति क्विन्टल ६ सय २० निर्धारण गरेको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषदको बैठकको कार्यालय सिंहदरबारमा हिजो बसेको मन्त्रिपरिषद् बैठकका निर्णयहरू सार्वजनिक गर्न आज आयोजित पत्रकार सम्मेलनमा सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदिश खरेलले आर्थिक वर्ष ०८२/८३ को लागि कृषकले उत्पादन गरेको उखुको न्यूनतम खरिद मूल्य प्रति क्विन्टल ६ सय २० निर्धारण गर्ने र उखु कृषकलाई अनुदान रकम प्रति क्विन्टल ७० रुपैयाँ कायम गर्ने निर्णय भएको बताउनुभयो ।

पत्रकार सम्मेलनमा सञ्चार मन्त्री खरेलले यातायात क्षेत्रसम्बन्धी सर्वोच्च अदालतका आदेशहरू कार्यान्वयन सम्बन्धमा दिपक सुवेदीको अध्यक्षतामा तीन सदस्यीय जाँचबुझ आयोग गठन गर्ने निर्णय मन्त्रिपरिषद् बैठकले गरेको जानकारी दिनुभयो ।

यस्तै जेनजी प्रदर्शन तथा आन्दोलनमा घाइते तथा अपाङ्ग भएका व्यक्तिहरूलाई राहत सहायता उपलब्ध गराउने सम्बन्धी कार्यविधि २०८२ स्वीकृत गर्ने, नेपाल र मौरिससवीच सम्पन्न दोहोरो कर मुक्ति तथा वित्तीय छल निरोधसम्बन्धी सम्झौता अन्त्य गर्ने पनि निर्णय भएको मन्त्री खरेलले बताउनुभयो ।

मन्त्री खरेलले इलाम, कास्की, चितवन, झापा, तेह्रथुम, नवलपरासी बर्दघाट सुस्ता पूर्व  र नवलपरासी बर्दघाट सुस्ता पश्चिम, पर्वत, मोरङ र सुनसरी जिल्लाका ९४ हजार ५ सय २७ गरिब परिवारको सूची स्वीकृत गर्ने निर्णय भएको जानकारी दिनुभयो ।

यस्तै सञ्चार तथा सूचना प्रविधि मन्त्रालय र अन्तर्गतका निकायहरूको सङ्गठन तथा व्यवस्थापन सर्वेक्षण गर्न पूर्व स्वीकृति दिने, आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व दोस्रो संशोधन नियमावली २०८२ स्वीकृत गर्ने लगायतका निर्णयहरू मन्त्रिपरिषद् बैठकले गरेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button