तपाईँ सुन्दै हुनुहुन्छः

प्रदेशको समृद्धि विना देश समृद्ध हुँदैन : अर्थमन्त्री यादव

जनकपुरधाम । मधेश प्रदेश सरकारका नवनियुक्त अर्थमन्त्री महेशप्रसाद यादवले आज पदभार ग्रहण गर्दै विगतका अपूरा विकास योजनाहरूलाई पूर्णता दिन सरकार प्रतिबद्ध रहने बताउनुभएको छ ।

पदभार ग्रहण समारोहमा मन्त्री यादवले आगामी आर्थिक वर्षका कार्यक्रम तथा बजेट संरचनामा मधेशको आवश्यकता र जनअपेक्षाअनुसार महत्वपूर्ण परिवर्तन आउने दाबी पनि गर्नुभयो ।

मन्त्री यादवले अधुरै छाडिएका महत्वपूर्ण पूर्वाधार तथा विकास योजनाले प्रदेशको समग्र प्रगति ढिलाइ गरेको भन्दै ती योजनालाई सरकारको उच्च प्राथमिकतामा राखेर अघि बढाइने बताउनुभयो । उहाँले अब सरकारले योजनालाई घोषणा मात्र गरेर छाड्ने होइन, पूर्णता दिने दिशामा अघि बढ्ने बताउनुभयो ।

उहाँले मधेश प्रदेशलाई कृषि, शिक्षा र स्वास्थ्यका क्षेत्रमा देशको हबका रूपमा विकास गर्न विशेष नीति र बजेट विनियोजन मार्फत अघि बढिने जानकारी पनि दिनुभयो । अर्थमन्त्री यादवले कृषि उत्पादनमा आत्मनिर्भरता, आधुनिक शैक्षिक पूर्वाधार विस्तार तथा प्रभावकारी स्वास्थ्य सेवा पहुँच विस्तारलाई मुख्य कार्ययोजना बनाइएको मन्त्री यादवले पदभार ग्रहणपछि पत्रकारहरूलाई जानकारी दिनुभयो ।

मन्त्री यादवले अबको अर्थ मन्त्रालय सञ्चालन परिणाममा केन्द्रित हुने प्रतिबद्धता व्यक्त गर्दै मधेशको समृद्धि नै नेपालको समृद्धिको आधार भएको उल्लेख गर्दै मधेश समृद्ध नभएसम्म देश देश समृद्ध एवं बलियो हुन नसक्ने बताउनुभयो ।

पदभार ग्रहणसँगै मन्त्री यादवले मन्त्रालयका उच्च अधिकारीहरूसँग बैठक गर्दै आगामी आर्थिक वर्षका प्राथमिकता, बजेट निर्माण प्रक्रिया र तत्काल कार्यान्वयनमा लैजानुपर्ने कार्यक्रमबारे निर्देशन दिनुभएको छ । मधेश सरकारको नेतृत्वमा आर्थिक सुधार, सुशासन र पारदर्शिता सहितको वित्तीय व्यवस्थापनलाई सुदृढ बनाउने लक्ष्यमा आफू दृढ भएर अगाडी बढ्ने बताउनुभयो ।

मधेश प्रदेशका अर्थ मन्त्रालयका सचिव रामकुमार महतोले मधेश प्रदेशको आर्थिक अवस्था तथा प्रदेश सरकारको समग्र बजेटको विषयमा बोल्नुभएको थियो ।  

प्रतिक्रिया राख्नुहोस्

Back to top button