एनसेलको विवाद चाँडो समाधान हुनुपर्छ : सञ्चारमन्त्री खरेल
काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले दूरसञ्चार सेवा प्रदायक एनसेलको विवाद चाँडो समाधान हुनुपर्ने बताउनुभएको छ । नक्खुस्थित एनसेल कार्यालयको सोमबार अवलोकनका क्रममा मन्त्री खरेलले एनसेलको शेयरसम्बन्धी विवाद, भुक्तानी दायित्व लगायत सबै विवाद चाँडो समाधान गरिनुपर्नेमा जोड दिनुभयो ।
सञ्चार मन्त्री खरेलले भन्नुभयो,“राज्य र नागरिकको नजरमा एनसेलको बिजनेस सम्मानित हुनुपर्यो, जति पनि विवाद छन् तीनको समाधान गरेर क्लिन विजनेश र सर्भिस दिनेतर्फ केन्द्रित हुन आग्रह गर्दछु । क्लिन बिजनेसका लागि सरकारको साथ सहयोग रहन्छ ।”
सञ्चार मन्त्री खरेलले एनसेलको क्षतिको समाधानका लागि सरकारले आवश्यक पहल गर्ने विश्वास व्यक्त गर्नुभयो । मन्त्री खरेलले पछिल्लो समय एनसेलसँग देखिएका समस्या समाधानका लागि पनि सरकार प्रयासरत रहेको बताउनुभयो । “केही नीतिगत समस्या छन्, केही विवादहरू पनि देखिएका छन्, यद्यपि यी सबै कानुनसम्मत समाधान हुनुपर्छ भन्नेमा सरकार विश्वस्त छ”, उहाँले भन्नुभयो ।
सञ्चार मन्त्री खरेलले एनसेलको कार्यालय, डेटा सेन्टलको अवलोकन गर्नुभएको हो । मन्त्री खरेललाई एनसेलका अध्यक्ष सतिशलाल आचार्य र प्रमुख कार्यकारी अधिकृत माइकल फोलेले स्वागत गर्दै जेनजी आन्दोलनका क्रममा भएको क्षतिबारे जानकारी गराउनुभएको थियो ।
गत भदौ २४ गते जेनजी आन्दोलनका क्रममा एनसेलको लैनचौरस्थित केन्द्रीय कार्यालय क्षतिग्रस्त भएपछि एनसेलले नक्खुस्थित कार्यालयबाट सेवा प्रवाह गरिरहेको छ । एनसेलका अनुसार करिब रु ६५ करोड बराबरको क्षति भएको थियो ।








प्रतिक्रिया राख्नुहोस्