बाँकेमा विकराल बन्दै लागूऔषध दुर्व्यसन
नेपालगञ्ज । भारतसँगको खुला सीमा र असहज निगरानीले बाँके जिल्ला लागूपदार्थको मुख्य प्रवेश विन्दु बनेको छ । खुला सीमा त नशाका कारोबारका लागि खुला ढोका नै बनेको छ । रोजगारीको खोजी, व्यापार, उपचार वा भेटघाटका नाममा भारत जाने आउने सहजता दुर्व्यसनको लागि उत्तिकै उपयोग भएको देखिएको छ ।

आर्थिक वर्ष ०८१/०८२ मा मात्रै २१३ वटा लागूपदार्थ सम्बन्धी मुद्दा दर्ता भएका छन् भने ३१९ जना पक्राउ परेका छन् । चालू आर्थिक वर्षको साउनदेखि कार्तिकसम्म ६१ वटा मुद्दा दर्ता भइसकेका छन् भने ८७ जना पक्राउ परेका छन् । यो आँकडाले नशाको प्रवाह रोकिएको छैन, अझै तीव्र गतिमा फैलिँदै छ भन्ने सङ्केत दिन्छ ।
नेपालगञ्जको महेन्द्र बहुमुखी क्याम्पस छेउमा तीन साता अघि एक युवती मृत फेला परिन् । केही समयदेखि ‘ब्राउन सुगर’ को चपेटामा परेकी उनी त्यही नशाको दलदलमै जीवनसँग हारिन् । घरको आर्थिक अभाव, साथीहरूको प्रभाव र बेरोजगारीको निराशाबिच सबैले मिलेर एक छिनको आनन्दका नाममा उनको जीवन लिला समाप्त पारिदियो । यति असामयिक मृत्यु केवल घटनाको विवरण जस्तो सुनिए पनि यसले बाँकेमा लागूपदार्थ दुर्व्यसनको वास्तविकता उजागर गरिदिएको छ ।
बाँकेका प्रहरी प्रमुख एसपी अंगु जिसी मृत्युका थुप्रै कारण हुने भए पनि पछिल्लो समय दुर्व्यसनी पनि एउटा महत्वपूर्ण कारण बनेको बताउनुहुन्छ । वर्षौंदेखि दुर्व्यसनविरुद्धको अभियान चलाउँदै आउनुभएका उत्तम उप्रेतीका अनुसार यो समस्या कुनै सहर, कुनै परिवार वा कुनै परिस्थितिमा मात्र सीमित छैन । साथीभाइको लहलहै, प्रेममा पाएको चोट, पढाइमा असफलता, आत्मविश्वासको कमी, बेरोजगारीले ल्याएको आन्तरिक तनाव यी सबै एकसाथ मिसिँदा युवा पुस्तालाई नशातिर धकेल्छ । अहिले त विद्यालयमा अध्ययनरत बालबालिका समेत जोखिममा देखिन्छन् ।








प्रतिक्रिया राख्नुहोस्