तपाईँ सुन्दै हुनुहुन्छः

अविश्वास बढेको छ, सुरक्षाका लागि सरकार जिम्मेवार हुनुपर्छ : सभामुख घिमिरे

सुरुङ्गा (झापा) । सभामुख देवराज घिमिरेले निर्वाचनको विषयलाई लिएर दलहरूबीच अविश्वास बढेको बताउनुभएको छ । 

वीरता जेसिज बिर्तामोडको आयोजनामा आज यहाँ आयोजित ‘सङ्कटपछि देशको अर्थतन्त्र: अवसर र चुनौती’ विषयक कार्यक्रममा उहाँले सुरक्षालगायत कारणले निर्धारित समयमा निर्वाचन हुनेमा शङ्कासमेत रहेको बताउनुभयो । 

सभामुख घिमिरेले मुलुकमा राजस्व सङ्कलन कमजोर हुँदा सामान्य खर्च धान्न पनि सरकारले ऋण लिनुपर्ने अवस्था आएको भन्दै यस्तो बेला निजी क्षेत्रलाई विश्वासमा लिन सक्नुपर्ने धारणा राख्नुभयो । “मुलुकमा अराजक गतिविधि बढ्दै जाँदा निजी क्षेत्र लगानी गर्न हिचकिचाइरहेको समय छ । सुरक्षाका कारण मनोबल कमजोर भएको छ, त्यसैले निजी क्षेत्रलाई लगानी गर्ने वातावरण बनाउन लाग्नुपर्छ”, उहाँले भन्नुभयो । 

वीरता जेसिजका अध्यक्ष  युवराज कुँवरको अध्यक्षतामा भएको कार्यक्रममा लिड नेपालका प्रधान सम्पादक राजेन्द्र बाँनियाले सहजीकरण गर्नुभएको थियो । 

कार्यक्रममा नेपाल राष्ट्र बैङ्कका डेपुटीगर्भनर बमबहादुर मिश्र, नविल बैङ्कका कार्यकारी प्रमुख मनोज ज्ञवाली, उद्योग वाणिज्य महासङ्घका केन्द्रीय उपाध्यक्ष हेमराज ढकाल, राष्ट्रिय सहकारी बैङ्कका अध्यक्ष महेन्द्रकुमार गिरी, वीरता जेसिजका सङ्घ संस्था समन्वय संयोजक भूपेन्द्र भण्डारी, कोषाध्यक्ष लोकचन्द्र श्रेष्ठ, नेपाल पत्रकार महासङ्घ झापाका अध्यक्ष एकराज गिरीलगायतले मुलुकको पछिल्लो आर्थिक अवस्थाका विषयमा आ–आफ्नो धारणा राख्नुभएको थियो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button