रौतहट दुर्घटना : मृतकका पक्षको आन्दोलन, पूर्व–पश्चिम राजमार्ग अवरुद्ध
रौतहट । रौतहटको चन्द्रपुर–६ मोथिहायी पुल नजिक शुक्रबार भएको दुर्घटनामा ज्यान गुमाउनुभएका वृन्दावन नगरपालिका–२ विश्रामपुरका ४० वर्षीय नागेन्द्र पटेलको निधनबारे न्यायको माग राख्दै स्थानीयवासी तथा आफन्तजनले शनिबार चन्द्रनिगाहपुर चोकमा आन्दोलन गरी पूर्व–पश्चिम राजमार्ग अवरुद्ध गर्नुभएको छ ।

शुक्रबार अपराह्न गौरबाट चन्द्रनिगाहपुरतर्फ जाँदै गरेको ना ४ ख ६५४७ नम्बरको बस र विपरीत दिशाबाट आइरहेको ना ३९ प ४२४० नम्बरको मोटरसाइकल एक–आपसमा ठोक्किँदा मोटरसाइकल चालक पटेल गम्भीर घाइते हुनुभएको थियो । गम्भीर अवस्थामा चन्द्रपुर प्रालि अस्पताल पुर्याइएकामा उपचार क्रममा साँझ सवा ५ बजे चिकित्सकले उहाँलाई मृत घोषणा गर्नुभएको थियो ।
मृतक पटेलले चलाइरहनुभएको मोटरसाइकलमा सवार उहाँका तीनजना बालबालिका पनि घाइते हुनुभएको छ । घाइते हुनेमा १२ वर्षीय युवराज पटेल, ११ वर्षीया आकृति पटेल र १५ वर्षीय प्रिन्स कुमार पटेल रहेका छन् । तीनै जनालाई गम्भीर चोट लागेकाले हाल वीरगन्जस्थित न्युरो हस्पिटलको आइसियुमा उपचार भइरहेको मृतक दाइ दिपेन्द्र पटेलले जानकारी दिनुभयो । उहाँका अनुसार तिनै जनाको अवस्था चिन्ताजनक रहेको छ ।
दुर्घटनामा संलग्न बस चालकलाई नियन्त्रणमा लिइएको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका डिएसपी रुपा लाबुङले बताउनुभयो ।
उहाँका अनुसार घटनापछि उचित व्यवस्थापन गर्नुपर्ने, घाइते बालबालिकाको उचित उपचार सुनिश्चित गर्नुपर्ने तथा मृतकका परिवारलाई उचित क्षतिपूर्ति उपलब्ध गराउनुपर्ने माग राख्दै आफन्तजनले राजमार्ग अवरुद्ध गर्दै प्रदर्शन गर्नुभएको हो ।
मृतक पटेल परिवार चन्द्रनिगाहपुरमै बसोबास गर्दै आउनुभएको र शुक्रवारको छुट्टी मनाउन घर फर्कँदै गर्नुहुँदा दुर्घटना भएको परिवारजनले बताउनुभयो ।
राजमार्ग अवरुद्ध भएपछि सुरक्षा निकाय तथा स्थानीय प्रशासनले आन्दोलनकारीसँग वार्ता गरी सहमति जुटाउने प्रयास भइरहेको प्रहरीले जानकारी दिएको छ ।






प्रतिक्रिया राख्नुहोस्