तपाईँ सुन्दै हुनुहुन्छः

निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव

काठमाडौँ । उपराष्ट्रपति रामसहायप्रसाद यादवले निद्राजन्य विकारहरू (स्लिप डिसअडर्स) को चुनौतीसँग लड्न थप सचेतनासँगै अनुसन्धान गर्नुपर्ने आवश्यकता औँल्याउनुभएको छ । 

आज यहाँ आयोजित नेप्लिज सोसाइटी अफ स्लिप डिसअडर्सको दोस्रो अन्तर्राष्ट्रिय सम्मेलनमा उहाँले पछिल्लो समय व्यस्त जीवनशैली, अस्वस्थ खानपान, प्रविधिको बढ्दो प्रयोगलगायत कारणले निद्रासम्बन्धी विकारहरूको बढ्दै गएकाले यस्ता चुनौतीलाई समयमा नै सम्बोधन गर्नुपर्नेमा जोड दिनुभयो ।

उपराष्ट्रपति यादवले मानसिक तनाव, बेरोजगारी, आर्थिक असुरक्षा तथा मधुमेह, उच्च रक्तचापजस्ता रोगहरूले निद्रामा गहिरो असर पारिरहेकाप्रति सचेत हुन सबैलाई सुझाव दिनुभयो । “आधुनिक जीवनशैली, सहरीकरण, मोबाइल र सामाजिक सञ्जालको अत्यधिक प्रयोगले स्लिप डिसअडर्सको समस्या गम्भीर बन्दै गएको छ”, उहाँले भन्नुभयो, “यसले मानव स्वास्थ्यमा नकारात्मक प्रभाव परिरहेको छ ।”

उहाँले विद्यालयदेखि समुदायसम्म निद्राको महत्त्वबारे सचेतना कार्यक्रम सञ्चालन गर्नुपर्नेमा जोड दिँदै निन्द्रासम्बन्धी समस्या समाधान गर्नेतर्फ सरोकार भएकाले पहल गर्नुपर्ने बताउनुभयो । विशेषज्ञ चिकित्सक तथा स्वास्थ्यकर्मीको सङ्ख्या बढाउन, स्वास्थ्य नीतिमा निद्राजन्य विकारको पहिचान र उपचारलाई प्राथमिकताका साथै नेपालमा आधारित अनुसन्धानलाई प्रोत्साहन गर्दै अन्तर्राष्ट्रिय सहकार्यलाई मजबुत बनाउनुपर्ने उहाँको भनाइ छ ।  

“निद्राजन्य विकारले व्यक्तिगत मात्र नभई सामाजिक र आर्थिक विकासमा समेत प्रत्यक्ष असर पार्न सक्छ”, उपराष्ट्रपति यादवले भन्नुभयो, “नियमित र स्वस्थ जीवनशैली, ध्यान, योग, शारीरिक व्यायाम र विशेषज्ञ चिकित्सकसँगको परामर्शलाई प्राथमिकता दिएर यसका असरहरूलाई न्यूनीकरण गर्न सकिन्छ ।”

राष्ट्रिय तथा अन्तर्राष्ट्रियकरण विशेषज्ञ, अनुसन्धानकर्ता, चिकित्सक तथा नीति निर्माताहरूको सक्रिय सहभागिता रहेको यस सम्मेलनले नयाँ विचार, अनुसन्धानका अवसर र सहकार्यका सम्भावना सिर्जना गर्नेसमेत उहाँले विश्वास व्यक्त गर्नुभयो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button