आइटिएफ जे–३० टेनिस टुर पोखरामा जारी
पोखरा । पोखरामा जारी आइटिएफ वर्ल्ड टेनिस टुर जुनियर्स जे–३० अन्तर्गत ब्वाइज सिंगल्सतर्फ कोरियाका युल हो जुङ र श्रीलङ्काका गानुका फर्नान्डो फाइनलमा प्रवेश गर्नुभएको छ ।

कास्की जिल्ला टेनिस सङ्घको आयोजनामा जारी सर्किट १ अन्तर्गत पोखरा रङ्गशालामा शुक्रबार सम्पन्न सेमिफाइनलमा कोरियाका युलले प्रतियोगितामा जुनियर शीर्ष वरियताका चाइनिज ताइपेईका टिङ–हो याङलाई ३–६, ६–३, ७–६(१)ले पराजित गर्दै कठिन जित निकाल्दै फाइनलमा स्थान बनाउनुभएको हो ।
अर्को सेमिफाइनलमा श्रीलङ्काका गानुकाले नेपालका प्रणव मानन्धरलाई ६–४, ६–२ को सोझो सेटमा हराउँदै फाइनल यात्रा तय गर्नुभयो । त्यसै गरी गर्ल्सतर्फ नेपालकी शिवाली गुरुङ र चाइनिज ताइपेईकी के–चि सुले फाइनलमा प्रतिस्पर्धा गर्ने भएका छन् ।
त्यस्तै गर्ल्स सिंगल्सतर्फ चाइनिज ताइपेईकी के–चि सुले भारतकी अनन्या जैनलाई ६–२, ६–० को सोझो सेटमा पराजित गर्दै फाइनलमा स्थान बनाउँदै नेपाली खेलाडी शिवाली गुरुङसँग फाइनलमा भेट पक्का गर्नुभएको हो । अर्को सेमिफाइनलमा नेपालकी शिवाली गुरुङले भारतकी जुनियर दोस्रो वरियताकी कार्तिका पद्मकुमारलाई ६–२, ३–६, ६–१ ले हराउँदै फाइनलमा प्रवेश गर्नुभयो ।
त्यस्तै ब्वाइज डबल्सतर्फ कोरियाका हियोजिन हा र युल हो जुङको जोडीले भारतका फजल अली मिर र हङकङका सेल्विन युएन वङको जोडीलाई ३–६, ६–३, १०–८ ले हराउँदै उपाधि हात पार्न सफल हुनुभयो । त्यस्तै गर्ल्स डबल्स तर्फ शिवाली गुरुङ र के–चि सुको जोडीले भारतकी सौम्या चटर्जी र रञ्जना सग्रामको जोडीलाई ६–२, ६–२ ले पराजित गर्दै उपाधि जित्नुभयो । जारी प्रतियोगिताको सर्किट १ अन्तर्गतको फाइनल खेल शनिबार हुने कास्की टेनिसका अध्यक्ष राज कुमार गुरुङले बताउनुभयो ।
मङ्सिर २७ गतेसम्म लगातार सञ्चालन हुने आइटिएफ वर्ल्ड टेनिस टुर जे३० सर्किट १ र २ अन्तर्गत १६ देशका ८० खेलाडीहरूको सहभागिता रहेको छ । जसमा ब्वाइजतर्फ ५५ र गर्ल्सतर्फ २५ जना सहभागी हुनुभएको छ । प्रतियोगितामा नेपालसहित भारत, चिन, अमेरिका, न्युजिल्याण्ड, ताइवान, बङ्गलादेश क्यानडा, अस्ट्रेलिया, कोरिया, युके, सिङ्गापुर, मलेसिया, श्रीलङ्का, इजरायल, हङकङका खेलाडीहरूको सहभागिता छ ।








प्रतिक्रिया राख्नुहोस्