तपाईँ सुन्दै हुनुहुन्छः

संविधानलाई सही बाटोमा ल्याउन निर्वाचन आवश्यक : संयोजक दाहाल 

विराटनगर । नेपाली कम्युनिष्ट पार्टीका संयोजक एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहालले फागुन–२१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि आफ्नो पार्टी देशव्यापी अभियानमा थालेको बताउनुभएको छ ।

नेपाली कम्युनिष्ट पाटीले विराटनगरमा आज आयोजना गरेको कोसी प्रदेशस्तरीय पार्टी एकता सन्देश सभालाई सम्बोधन गर्नुहुँदै उहाँले संविधानलाई सही बाटोमा ल्याउन निर्वाचन आवश्यक रहेकाले घोषित मितिमा निर्वाचन हुनुपर्ने बताउनुभयो ।

निष्पक्ष, स्वतन्त्र एवं भयरहित रूपमा निर्वाचनमा सहभागी हुने वातावरण बनाउन उहाँले आग्रह गर्नुभयो । निर्वाचनका लागि गठन भएको वर्तमान सरकारले राष्ट्रिय स्वाधीनतामा दीर्घकालीन असर गर्ने कुनै पनि निर्णय गर्न नहुने उहाँको भनाई थियो । 

उहाँले राष्ट्र र जनताको हितका सबै शक्तिलाई मिलाएर नेपाली कम्युनिष्ट पार्टी स्थापना भएको बताउँदै वर्तमान अवस्थामा लोकतन्त्रको रक्षाका निम्ति लोकतन्त्रवादी शक्ति एक जुट हुनुपर्ने बताउनुभयो । 

पार्टीका सहसंयोजक एवं पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले राष्ट्रिय स्वाधीनता र मुलुकको रक्षा एवं नेपाली जनताको स्वाभिमानका निम्ति  पार्टी गठन भएकाले पार्टीलाई सङ्गठित बनाउनुपर्नेमा जोड दिनुभयो ।

पार्टीका नेता एवं पूर्व प्रधानमन्त्री झलनाथ खनालले राजनीतिक स्थायित्व एवं मुलुकको विकासका लागि सबै लाग्नुपर्ने बताउनुभयो ।

कार्यक्रममा पार्टीका नेता डा.भीम रावल, नारायणकाजी श्रेष्ठ, राजेन्द्र श्रेष्ठ तथा गोपाल किराँती, हरिवोल गजुरेललगायतले पार्टी एकतामा जोड दिनुभएको थियो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button