तपाईँ सुन्दै हुनुहुन्छः

घटेनन् चितवनमा लैङ्गिक हिंसा 

चितवन । लैङ्गिक हिंसा विरुद्धको सोह्रदिने अभियान अन्तर्गत जिल्लामा दैनिकजसो विभिन्न सचेतनामुलक कार्यक्रमहरू भइरहेका छन् । हरेक वर्ष नोभेम्बर २५ देखि डिसेम्बर १० तारिखसम्म यो अभियान सञ्चालन हुने गर्छ । यस वर्ष ‘प्रविधिको सही प्रयोग गरौँ, लैङ्गिक हिंसा अन्त्य गरौँ’ भन्ने नारासहित अभियान मनाइएको छ ।

हरेक वर्ष अभियान सञ्चालन गरिरहँदा लैङ्गिक हिंसाका घटना कम हुन भने सकेको छैन । शारीरिक, मानसिक, सामाजिक, आर्थिकलगायत विभिन्न तरिकाबाट लैङ्गिक हिंसा भएको पाइन्छ । लैङ्गिक हिंसाबाट महिला, पुरुष र यौनिक अल्पसङ्ख्यक सबै पीडित हुने गरेका छन् । लैङ्गिक हिंसामा घरेलु हिंसाको हिस्सा करिब ७० प्रतिशत रहेको सरोकारवाला बताउनुहुन्छ । घरभित्रै श्रीमान्–श्रीमतीबिच वा दाजुभाइ–दिदीबहिनीबिच हुने हिंसाको दर हरेक वर्ष बढ्दो पाइएको छ ।

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार हरेक वर्ष घरेलु हिंसाको उजुरी बढेका छन् । चालु आर्थिक वर्ष २०८२/८३ को चार महिनामै घरेलु हिंसाका ८९ उजुरी परेको जिल्ला प्रहरी कार्यालय चितवनको महिला तथा बालबालिका शाखा हेर्ने प्रहरी निरीक्षक मनिष श्रेष्ठले जानकारी दिनुभयो ।

उहाँका अनुसार आव २०७९/८० मा घरेलु हिंसाका ३९५ उजुरी परेका थिए । आव २०८०/८१ मा ४९० वटा उजुरी दर्ता भएको र आव २०८१/८२ मा बढेर ५४२ पुगेको थियो । प्रहरीका अनुसार चालु आवमा ४९ वटा उजुरीमाथि मिलापत्र भइसकेको छ । २५ वटा उजुरी अदालती प्रक्रियामा गएका छन् भने १५ वटा उजुरी चालु अवस्थामा छन् । खान लगाउन नदिएको, कुटपिट गरेको र गाली बेइज्जती गरेको भन्दै घरेलु हिंसाका निवेदन पर्ने गरेको छ ।

‘चालु आर्थिक वर्षको कात्तिक मसान्तसम्म खान लाउन नदिएको भनी २३ वटा उजुरी प्राप्त भएका छन् । कुटपिट गरेको भनी ३१ वटा र गाली बेइज्जती गरेको भनी ३५ वटा उजुरी आए । जम्मा ८९ वटा उजुरी प्राप्त भएकोमा ४९ वटा उजुरीमाथि दुई पक्षबीच मिलापत्र भएको छ’, प्रहरी निरीक्षक श्रेष्ठले भन्नुभयो  ।

लैङ्गिक हिंसामा ७० प्रतिशतभन्दा बढी घरेलु हिंसाका उजुरी आउने गरेको उहाँले जानकारी दिनुभयो । घरेलु हिंसाबाहेक लैङ्गिक हिंसाका १३१ वटा ठाडो निवेदन आएको उहाँले बताउनु भयो । ‘कसैले नराम्रो शब्द बोलेर गाली गरेको वा हेलाहोचो गरेको भनेर परेका ठाडो निवेदनमाथि छलफलका लागि हामीले बोलाउँछौँ’, उहाँले भन्नुभयो ।

जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख एवम् प्रहरी उपरीक्षक गोविन्द पुरीले प्रहरीको तल्लो युनिटले पनि स्थानीय संघसंस्थासँग समन्वय गरेर लैङ्गिक हिंसा विरुद्धको सचेतनामुलक कार्यक्रम गरेको बताउनु भयो  । व्यावसायिक स्थलमा व्यवसायीले आफ्ना कर्मचारीलाई सम्मानपूर्ण व्यवहार गर्नुपर्ने भन्दै उहाँले प्रहरी आउनुपर्ने बाध्यात्मक अवस्था आउन नदिन आग्रह गर्नुभयो  ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button