तपाईँ सुन्दै हुनुहुन्छः

चुनाव रोकिँदैन, कामले जवाफ दिइन्छ: मन्त्री अर्याल

रुपन्देही । गृहमन्त्री ओम प्रकाश अर्यालले आगामी प्रतिनिधिसभा निर्वाचन कुनै पनि बहाना वा चर्चाले रोक्न नसक्ने स्पष्ट सङ्केत दिनुभएको छ । चुनाव हुँदैन, गर्न सकिँदैन भन्ने जस्ता सार्वजनिक टिप्पणीहरूलाई सरकारले काम र परिणाममार्फत जवाफ दिने उहाँको भनाइ छ ।

आज रुपन्देहीको भैरहवामा गृह मन्त्रालय र लुम्बिनी प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले आयोजना गरेको प्रदेशस्तरीय सुरक्षा गोष्ठीमा उहाँले सरकार समयमै चुनाव सम्पन्न गरी निर्वाचित नेतृत्वलाई सत्ता हस्तान्तरण गर्न आतुर रहेको बताउनुभयो । उहाँले सुरक्षाको तयारी पर्याप्त रहेको बताउँदै दण्डहीनता अब कुनै रूपमा स्वीकार्य नहुने चेतावनी दिनुभयो ।

अर्यालका अनुसार जेन जी आन्दोलनपछिको असामान्य परिस्थितिमा, शून्यता चिर्न विशेष जिम्मेवारीसहित बनेको वर्तमान सरकारले व्यक्तिगत आकाङ्क्षा वा लोभका आधारमा निर्णय नलिने प्रतिबद्धता जनाएको छ । देशले अपेक्षित सुशासनको आधार बलियो बनाइ आगामी सरकारलाई बिगार्न नसक्ने वातावरण सुम्पनु नै अहिलेको प्राथमिकता रहेको उहाँले दोहोर्‍याउनुभयो ।

चुनाव विरोधी बहानाहरूलाई अस्वीकार गर्दै उहाँले राजनीतिक दलहरूले उठाएका सुरक्षा चुनौती—लुटिएका हतियार र फरार कैदीबन्दी—मध्ये धेरै मुद्दामा विशेष अपरेसनमार्फत परिणाम आइसकेको जानकारी दिनुभयो । ठूलो सङ्ख्यामा हतियार फिर्ता भइसकेका छन् भने फरार कैदी पनि समातिने क्रम जारी रहेको उहाँले बताउनुभयो ।

राजस्व चुहावटका कारण लुम्बिनी प्रदेश जोखिममा रहेको उल्लेख गर्दै उहाँले सुशासनको जगमा बनेको सरकारले चुहावट नियन्त्रणमा शून्य सहनशीलताको नीति प्रयोग गरिरहेको बताउनुभयो । सरकारी संयन्त्रका बाँकी कमजोरी पनि अन्त्य हुनुपर्ने उहाँले स्पष्ट गर्नुभयो।

गोष्ठीमा गृहसचिव रामेश्वर दंगाल, नेपाल प्रहरीका प्रहरी महानिरीक्षक दानबहादुर कार्की, सशस्त्र प्रहरी प्रमुख राजु अर्याल,  लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्य र १२ जिल्लाका प्रमुख जिल्ला अधिकारी तथा जिल्ला प्रहरी प्रमुखहरू सहभागी हुनुभएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button