तपाईँ सुन्दै हुनुहुन्छः

राष्ट्रपति पौडेलद्वारा विवाह पञ्चमीको अवसरमा शुभकामना

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले विवाह पञ्चमी पर्वको अवसरमा शुभकामना व्यक्त गर्दै यो पर्वले राष्ट्रिय एकता, सद्‌भाव र सहिष्णुताको भावना थप सुदृढ गर्ने विश्वास व्यक्त गर्नुभएको छ।

त्रेतायुगमा भगवान् राम र माता जानकीको विवाह भएको दिनको स्मरणमा मनाइने विवाह पञ्चमी मिथिला र जनकपुरधाम क्षेत्रमा साताव्यापी उत्सवका रूपमा मनाइन्छ। राष्ट्रपति पौडेलले पवित्र सांस्कृतिक तथा धार्मिक परम्परामा आधारित यस पर्वले आदर्श, मर्यादा र पारिवारिक सद्‌भावको सन्देश दिने बताउनुभएको छ ।

उहाँका अनुसार झाँकी, बाजागाजा, नाचगान, जन्ती र डोला हेर्ने परम्परामार्फत विवाह पञ्चमीले मिथिलाको समृद्ध सांस्कृतिक इतिहास झल्काउने गरेको छ। परम्परागत संस्कृतिको संरक्षण र वैवाहिक जीवनमा जिम्मेवारीको बोध गराउने सांस्कृतिक पर्वका रूपमा यसले समाजलाई सकारात्मक दिशामा लैजाने विश्वास राष्ट्रपति पौडेलले व्यक्त गर्नुभयो।

उहाँले सांस्कृतिक विविधताबीच राष्ट्रिय एकता कायम गर्न, मौलिक संस्कृतिको संरक्षण तथा सभ्य र सुशासित समाज निर्माणमा यो पर्वले प्रेरणा दिने आशा व्यक्त गर्नुभएको छ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button