तपाईँ सुन्दै हुनुहुन्छः

बाँकेको चौफेरीमा ५० वर्षपछि पहिलोपटक बिजुली

बाँके । बाँकेको डुडुवा गाउँपालिका–१ का चौफेरीसहित पाँच बस्तीमा ५० वर्षपछि पहिलोपटक विद्युत् पुगेपछि स्थानीयमा उत्साह बढेको छ। दशकौँदेखि उज्यालो, शिक्षा, स्वास्थ्य र सडक सुविधा नपाएका बासिन्दाले बत्ती बल्ने क्षणलाई ऐतिहासिक परिवर्तनको रूपमा लिएका छन्।

भारतको दशगजा, राप्ती नदी र डुडुवा खोलाबीच टापुजस्तो भौगोलिक क्षेत्रमा रहेका यी बस्तीहरू लामो समयदेखि राज्यको पहुँचभन्दा टाढा रहेका थिए। बत्ती बलेसँगै गाउँघर झलमल बनेको र स्थानीयले ठूलो पर्वसरह खुशी मनाएको देखिएको छ।

स्थानीयवासीहरूले नेपाल विद्युत् प्राधिकरण नेपालगञ्ज वितरण केन्द्रका प्रमुख इन्जिनियर जगन्नाथ लामिछानेप्रति कृतज्ञता व्यक्त गर्दै भने, “बुढेसकालमा आएर उज्यालो देख्यौँ। अब सडक, विद्यालय र स्वास्थ्य सेवा पनि आओस्।”

गाउँपालिका अध्यक्ष नरेन्द्र चौधरी थोरैपटक गाउँ पुग्न सके पनि विद्युत् विस्तारमा गरेको पहलका लागि स्थानीयले धन्यवाद व्यक्त गरेका छन्। तर उनीहरूको मुख्य आग्रह भने विकासका अन्य आधारभूत आवश्यकतामाथि नै केन्द्रित छ।

७० वर्षीय तिर्थराम यादवले बत्ती बालिएको क्षणलाई जीवनभरको प्रतीक्षा पूरा भएको बताए। “टुक्कीको धुवाँ खाँदै काटेको जीवनमा बत्ती आइला भन्ने आशा थिएन। मन्त्री कुलमान घिसिङ आएपछि मात्रै हाम्रो गाउँमा उज्यालो पुग्यो,” उनले भने।

उनका अनुसार विगतमा अन्य बस्तीमा लाइन पुगे पनि चौफेरी वर्षौँ उपेक्षित रह्यो। “नेता धेरै आए–गए, तर हाम्रो घरमा कहिल्यै बत्ती बल्दैनथ्यो,” यादवले बताए।

चौफेरी बाढी, कटान र आगलागीको जोखिमयुक्त क्षेत्र भएकाले बासिन्दाको जीवन थप कठिन थियो। स्थानीयका अनुसार बत्ती पुगेपछि रातमा सुरक्षा अनुभूति बढेको र आपत्कालीन अवस्थामा केही देखिने भएकाले सहजता भएको छ।

गाउँमा सामान्य चेकजाँचका लागि कहिलेकाहीँ स्वास्थ्यकर्मी आउने गरे पनि गम्भीर बिरामी भारततर्फै लैजानुपर्ने बाध्यता छ।
“भारत जाँदा बाटो सहज छ, नेपालगञ्ज पुग्न भने निकै कठिन हुन्छ,” यादवले भने। औषधि उपचारदेखि श्रमसमेत धेरै कुरा सीमा–पारिबाट नै निर्भर रहने गरेका छन्। उज्यालो पुगेसँगै अब नेपालका सेवा–सुविधा पनि नजिकिन्छन् भन्ने अपेक्षा स्थानीयको छ।

५० वर्षपछि आएको विद्युत् स्थानीयका लागि केवल बत्ती मात्र होइन, आगामी विकासको संकेत भएको उनीहरूको भनाइ छ। “अँध्यारो हट्यो, अब विकास पनि आओस्,” स्थानीयले भने।

बत्ती पुगेसँगै गाउँलेको अपेक्षा सडक, विद्यालय, स्वास्थ्यचौकी, खानेपानी र अन्य पूर्वाधार विकासमा केन्द्रित भएको छ। लामो समयदेखि छायामा परेको चौफेरीको भविष्य अब उज्यालोसँगै अघि बढ्ने आशा गरिएको छ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button