तपाईँ सुन्दै हुनुहुन्छः

काठमाडौँ विश्वविद्यालय र साथसाथै फाउण्डेशनबीच समझदारी पत्रमा हस्ताक्षर

काठमाडौँ । काठमाडौँ विश्वविद्यालयको स्कुल अफ साइन्स र साथसाथै फाउण्डेशनबीच जलवायु परिवर्तनलगायत विभिन्न क्षेत्रमा सहकार्य गर्ने सम्बन्धमा एक समझदारी पत्रमा हस्ताक्षर भएको छ । 

आज भएको कार्यक्रममा काठमाडौँ विश्वविद्यालय स्कुल अफ साइन्सका डिन प्राध्यापक डा वेदमणि दाहालले वातावरणीय पक्षलाई सामाजिक–आर्थिक दृष्टिकोणसँग जोड्न साथसाथै फाउण्डेशनसँगको सहकार्य अत्यन्त महत्त्वपूर्ण भएको बताउनुभयो । उहाँले संयुक्त अनुसन्धान डिजाइन तथा कार्यान्वयनलगायत सहकार्यका मुख्य क्षेत्रहरू विस्तृत रूपमा स्पष्ट पार्नुभयो । 

स्कुल अफ साइन्स उपप्राध्यापक स्मृति गुरुङले दुई पक्ष मिलेर व्यावहारिक समाधानमार्फत जलवायु न्यायका मुद्दा उठाउने सक्ने बताउनुभयो । 

साथसाथै फाउण्डेशनका उपाध्यक्ष डा सिद्धार्थ बज्र बज्राचार्यले आफूहरूले दिगो पर्यटन प्रवर्द्धन तथा स्थानीय समुदायलाई सशक्त बनाउँदै त्यस क्षेत्रका काम गर्दै आएको र संस्थाले अहिलेसम्म गरेका कामहरूको बारेमा प्रकाश पार्नुभयो । 

साथसाथैका अध्यक्ष प्रजिता कार्कीले आफूहरूले विशेषगरी जलवायु न्यायका स्थानीय विषयलाई अन्तर्राष्ट्रिय फोरममा उठाएको उल्लेख गर्नुभयो । साथसाथै फाउण्डेशनले स्थापना कालदेखि नै जलवायु परिवर्तन र वातावरणसँग सम्बन्धित विभिन्न विषयमा खोज, अनुसन्धान, नीति निर्माणमा सहयोग तथा नेपालका एजेण्डालाई अन्तरराष्ट्रियस्तरमा उठाउँदै आएको छ । 

अध्यक्ष कार्कीले यसअघि काठमाडौँ विश्वविद्यालय र फाउण्डेशनको बीचमा कोप–२८ र विश्व वातावरण दिवसको दिन नेपाल कोल एक्जिट कार्यक्रम कार्यान्वयन गरिएको र त्यसलाई  निरन्तरता दिइने बताउनुभयो । रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button