तपाईँ सुन्दै हुनुहुन्छः

चितवनमा धानको उत्पादनसँगै उत्पादकत्व बढ्यो 

चितवन । चितवनमा यस बर्ष धानको उत्पादनसँगै उत्पादकत्व बढेको छ । अनुकूल मौसमसँगै मल प्राप्ति र रोग र किराको प्रकोप कम भएकोले उत्पादन बढेको हो । 

कृषि विकास कार्यालयको तथ्याङ्कले पनि चितवनमा यसपटक धान उत्पादन वृद्धि भएको देखाएको छ । कृषि विकास कार्यालयका कृषि अर्थ विज्ञ निर्मल पौडेलका अनुसार गत वर्षभन्दा यस वर्ष १५ प्रतिशतले धानमा वृद्धि भएको छ । आर्थिक वर्ष २०८१/८२ मा एक लाख १४ हजार २४४ मेट्रिक टन धान उत्पादन भएको चितवनमा चालु आर्थिक वर्ष २०८२/८३ मा एक लाख ३५ हजार ७२५ मेट्रिक टन धान उत्पादन भएको छ । गत आर्थिक वर्षभन्दा यस वर्ष २१ हजार ४८१ मेट्रिक टन धान उत्पादन भएको हो ।

चितवनमा चालु आवमा २७ हजार तीन सय २४ हेक्टरमा धान खेती भएको थियो । त्यसमध्ये ५० हेक्टर क्षेत्रफलमा बेमौसमी वर्षाले क्षति पुर्याएको उहाँले जानकारी दिनुभयो । चितवनमा यस वर्ष कृषि यान्त्रीकरणसँगै सिँचाइको समेत सुविधा पाएका कारण धान उत्पादनमा वृद्धि भएको उहाँले बताउनुभयो । यस वर्ष धान बालीमा तुलनात्मक रूपमा रोग  किराको प्रकोप समेत कम देखिएको उहाँले बताउनुभयो ।

खैरहनी नगरपालिका–१२ स्थित सिसानीका किसान तेजप्रसाद बर्तौलाले विगतका वर्षमा भन्दा धानको उत्पादन बढी भएको बताउनुभयो । उहाँका अनुसार हर्दिनाथ, हर्दिनाथ ५, चैते ५ लगायतका जातको धानको उत्पादकत्व बढी आएको छ । साना किसान कृषि सहकारी संस्था कुमरोजका अध्यक्ष समेत रहेका बर्तौलाले पूर्वी चितवनका किसानले यसपटक राम्रो उत्पादन लिएको बताउनुभयो ।

‘हामीले यसअघि प्रतिकट्ठा एक क्विन्टल ८० किलोभन्दा बढी उत्पादन लिन सकेका थिएनौँ’, उहाँले भन्नुभयो , ‘अहिले प्रत्येक किसानले प्रतिकट्ठा दुई क्विन्टलभन्दा बढी उत्पादन लिएका छन् ।’ 

प्रतिक्रिया राख्नुहोस्

Back to top button