वीरगन्ज: सरकारले शिक्षामा गरेको लगानी बालुवामा पानी,रजिस्टरमा विद्यार्थी सङ्ख्या देखाएर सेवा सुबिधा लिने प्रवृत्ति हाबी
वीरगञ्ज । वीरगन्ज नगर क्षेत्र भित्रकै विद्यालयहरूमा सरकारले शिक्षामा गरेको लगानी बालुवामा पानी खन्याए सरह भएको छ ।
सरकारले स्थानीय तहलाई शिक्षा हेर्ने जिम्मेवारी सुम्पिएसँगै स्थानीय तहको लापरबाही बढ्दै जाँदा कागजमा विद्यार्थी सङ्ख्या देखाउने तर यता कक्षा कोठामा भने विद्यार्थी नहुने भेटिएको छ । वीरगन्ज महानगरपालिका वडा नम्बर ३१ अन्तर्गत रहेका केही सामुदायिक विद्यालयहरूले विद्यार्थी सङ्ख्या बढाएर सेवा सुविधाहरू उपभोग गर्दै आएको भएपनि विद्यालयको अनुगमन गर्दा विद्यार्थी कक्षा कोठामा उपस्थित नदेखिएको स्वयं स्थानीय जनप्रतिनीधिहरु बताउँछन् ।
वीरगन्ज महानगरपालिका वडा नम्बर ३१ का अध्यक्ष जीतेन्द्र यादवले आइतबार वडामा रहेका सामुदायिक विद्यालयहरूको अनुगमन गर्दा दुईवटा विद्यालय भद्रगोल अवस्थामा सञ्चालित रहेको पाइएको बताउनुभयो । सो वडाको उन्नति प्राथमिक विद्यालय इस्लामपुरमा विद्यार्थी सङ्ख्या हाजिरी रजिस्टरमा बढी देखाएर शिक्षाबाट पाइने सेवा सुविधाहरू प्रधानाध्यापकले लिएर दुरुपयोग गरेको पाइएको यादवले जानकारी दिनुभयो ।
अनुगमनका क्रममा बालविकासदेखि कक्षा ५ सम्मका विद्यार्थीहरू एउटै कक्षाकोठामा बसेर अध्ययन गरिरहेको भेटिएको र एक देखि ५ कक्षा सम्म २ सय जना भन्दा बढी विद्यार्थी भएको हाजिरी रजिस्टरमा देखाइएपनि कक्षा कोठामा भने जम्मा २१ जनामात्रै विद्यार्थी उपस्थिति रहेको भेटिएको छ । विद्यालयमा विद्यार्थीहरू अनुपस्थित रहे सरह शिक्षकहरू पनि अनुपस्थित रहेका थिए । विद्यालयमा उपस्थित शिक्षिका आरती कुमारीले हाल सो विद्यालयमा १ देखि ५ कक्षा सम्म मात्रै २०/२१ जना विद्यार्थी पठन पाठनकालागि विद्यालयमा आउने गरेको बताउनुभयो ।

उहाँले अभिभावकहरूले विद्यालय नपठाउने गरेको बताउँदै अल्पसङ्ख्यक मुस्लिम समुदायको बाहुल्य रहेकोले सो विद्यालयमा भर्ना जनाएका विद्यार्थीहरू नजिकका मदरसामा पढ्न जाने गरेको खुलासा गर्नुभयो । यसैगरी, सोही वडाको बेलवा टोलमा रहेको श्रीराम जानकी आधारभूत विद्यालयको अवस्था पनि त्यस्तै छ । यस विद्यालयमा पनि एउटै कक्षामा १, २, ३ कक्षाका विद्यार्थीहरू अध्ययन गर्दै आएका छन् । सानो कक्षामा सुरुमा भर्ना बढी देखाएर कागजी रुपमा सरकारी सेवा सुविधा लिँदै आएका विद्यालयहरूमा स्थानीय तहले माथिल्लोस्तरबाट अनुगमन नगर्दा समस्या भएको हो ।
वडाध्यक्ष यादवले आफ्नो वडामा रहेका ९ वटा सामुदायिक विद्यालयमा उत्पन्न समस्या र शैक्षिक गुणस्तरको बारेमा तीन वर्षदेखि तत्कालीन शिक्षा महाशाखा प्रमुख हालका प्रमुख प्रशासकीय अधिकृत अरविन्दलाल कर्ण, अहिलेका महाशाखा प्रमुख लामिछानेलाई बारम्बार गुनासो गर्दै आएको तर सुधार नभएको बताउनुभयो । विद्यालयका प्रध्यानाध्यापकहरुबाट वीरगन्ज महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अरविन्द लाल कर्ण, शैक्षिक महाशाखा प्रमुख आनन्द लामिछानेले कागजीरुपमा विद्यार्थी खडा गरी कमिसन खाने प्रवृत्तिका कारण समस्या भएको आरोप अभिभावकहरूले लगाएका छन् ।
वडाअध्यक्ष यादवले पनि विद्यालयका प्रअहरूले शिक्षामा ध्यान दिनुको साटो महानगरको शिक्षा महाशाखामा सेटिङ मिलाएर अनियमिततालाई बढावा दिँदै आएको आरोप लगाउनुभयो । विद्यालय छ, विद्यार्थी छैनन्, सङ्ख्या देखाएर लाखौँको सेवा सुविधा लिने तर उपलब्धि शुन्य भएको देखिएको छ । अनियमितता देखिन्छ, अनि कारबाही गरिन्न भने त्यसलाई सेटिङ नभनी के भन्ने? उहाँले प्रतिप्रश्न गर्नुभयो । यससम्बन्धमा महानगरपालिका मौन रहेको आरोप समेत यादवको छ ।








प्रतिक्रिया राख्नुहोस्