रौतहटमा १६ हजार ८७७ नयाँ मतदाता दर्ता, कुल मतदाता सङ्ख्या ४ लाख ३८ हजार ५७० पुग्यो
रौतहट । आसन्न प्रतिनिधि सभा निर्वाचन नजिकिँदै गर्दा रौतहटमा मतदाता नामावली अद्यावधिक अभियान सम्पन्न भएको छ । असोज १० गतेदेखि मङ्सिर ५ गतेसम्म चलाइएको अद्यावधिक अवधिमा जिल्लामा १६ हजार ८७७ नयाँ मतदाताको नाम समावेश भएको जिल्ला निर्वाचन कार्यालय रौतहटका प्रमुख छोटेलाल दासले जानकारी दिनुभयो ।
अद्यावधिक अवधिमा प्रत्यक्षरूपमा जिल्ला निर्वाचन कार्यालयमा उपस्थित भई नाम दर्ता गराउने ६ हजार ६ सय ९९ जना रहनुभएको छ ।
प्रत्यक्ष रूपमा उपस्थिति भई नाम दर्ता गराइनेमा ३ हजार ८१७ पुरुष, २ हजार ८८२ महिला र १ जना अन्य रहेको प्रमुख दासले बताउनुभयो ।
यस्तै राष्ट्रिय परिचयपत्र (NID) मार्फत प्राप्त १० हजार १७८ आवेदनमध्ये सबै स्वीकृत भएको छ । प्रत्यक्ष दर्ता र एनआइडी दुवै प्रक्रियाबाट आएको आवेदन मिलाएर कुल १६ हजार ८७७ मतदाता थपिएको जिल्ला निर्वाचन कार्यालय रौतहटका प्रमुख दासले जानकारी दिनुभयो ।
अद्यावधिक अवधिमा ५८७ जनाको मतदान केन्द्र स्थान परिवर्तन गरिएको पनि उहाँले बताउनुभयो ।
रौतहटमा यसअघि ४ लाख २१ हजार ६९३ मतदाता दर्ता थिए । हाल थपिएका १६ हजार ८७७ नयाँ नामसँगै जिल्लाको कुल मतदाता सङ्ख्या ४ लाख ३८ हजार ५७० पुगेको प्रमुख दासले जानकारी दिनुभयो ।
आगामी निर्वाचनमा सहभागिता र मतदाताको पहुँचलाई सहज बनाउने लक्ष्य अनुसार अद्यावधिक कार्यलाई सफल मानिएको छ ।







प्रतिक्रिया राख्नुहोस्