तपाईँ सुन्दै हुनुहुन्छः

‘छैटौँ टाइगर कप’ मा माल्दिभ्सको राष्ट्रिय टोली सहभागी हुने

पोखरा । आगामी माघ दोस्रो सातामा पोखरामा आयोजना हुने ‘छैटौँ टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित खुल्ला क्लब च्याम्पियनसिप–२०८२’ मा मालदिभ्सको राष्ट्रिय पुरुष भलिबल टोलीले सहभागिता जनाउने भएको छ । 

टाइगर ग्रुप अफ पोखराको शनिबार पोखरामा सम्पन्न भएको चौथो वार्षिक साधारण सभा उद्घाटनको अवसरमा संस्थाका अध्यक्ष नारायणप्रसाद शर्माले आउँदो माघ ९ देखि १७ गतेसम्म पोखरामा हुने टाइगर कपमा मालदिभ्सको राष्ट्रिय टोली पोखरा आउने पक्का भएको बताउनुभयो । 

माल्दिभ्समा माघ १३ देखि २५ गते हुने पूर्व मिति घोषणा गरिए पनि पोखरामा उक्त प्रतियोगिता गर्न माग भए बमोजिम काभा भलिबल भने माघ २५ देखि फागुन २ गतेसम्म हुने भएको उहाँले उल्लेख गर्नुभयो । यस वर्षको महिला तथा पुरुष भलिबल खेलको लागि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय टिम गरी न्यूनतम ६/६ टिम सहभागी गराउने आयोजकले जनाएको छ । संस्थाले खेलकुद, शिक्षा र स्वास्थ्य क्षेत्रमा विभिन्न गतिविधि गर्दै आएको सचिव डिबी नेपालीले बताउनुभयो ।

कार्यक्रमको उद्घाटन गर्दै मणिपाल शिक्षण अस्पतालका निर्देशक एवं अटो वेज प्रालिका कार्यकारी निर्देशक नारायण पौडेलले भलिबल खेलको विकास गर्न एक विद्यालय एक भलिबल शिक्षक अभियान सञ्चालन गर्नुपर्नेमा बताउनुभयो । 

नेपाल भलिबल संघका केन्द्रीय सल्लाहकार हरिप्रसाद पराजुलीले पोखरामा भइरहेका प्रतिष्ठित खेलकुद कार्यक्रमहरूले पोखरामा खेल पर्यटनको प्रबद्र्धन गरेको बताउनुभयो ।

कोषाध्यक्ष हरिबहादुर श्रेष्ठले पाँचौँ टाइगर कपबाट १ करोड ७१ लाख ८९ हजार ५ सय ७१ रुपैयाँ आम्दानी भएको उक्त प्रतियोगिताबाट खर्च गरी २१ लाख १ हजार ६ रुपैयाँ बचत भएको बताउनुभयो । कार्यक्रममा उपाध्यक्ष देवेन्द्र केसी, नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीका अध्यक्ष एमबी आस्था लगायतले भलिबल खेलको बारेमा चर्चा गर्नुभयो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button