तपाईँ सुन्दै हुनुहुन्छः

घटनाको निष्पक्ष छानबिन र कारबाही प्रक्रिया अघि बढाउने विषय समेटेर सहमति

वीरगञ्ज । बाराको सिमरा घटना साम्य पार्नका लागि स्थानीय प्रशासन र जेनजी अगुवाहरू बीचको वार्ता पथलैयामा सम्पन्न भएको छ । सशस्त्र प्रहरी बल नेपाल प्राविधिक तालिम शिक्षालयमा बसेको छलफल सकिएको हो ।

वार्तापछि प्रमुख जिल्ला अधिकारी धर्मेन्द्रकुमार मिश्रले जेनजी समूहका आन्दोलनकारीहरूको सुरक्षा सुनिश्चित गर्न, घाइतेहरूको उपचारमा समन्वय गर्न तथा घटनाको निष्पक्ष छानबिन र कारबाही प्रक्रियालाई अघि बढाउने विषय समेटेर सहमति भएको जानकारी दिनुभयो । छलफलमा सहभागी जेनजीका अगुवाहरूले आफूहरूमाथि धम्की आइरहेको भन्दै सुरक्षाको ग्यारेन्टी मागेका थिए । साथै, घटनामा संलग्न सबैलाई तत्काल पक्राउ गरी कानुनी कारबाही अघि बढाउनुपर्ने माग जेनजीका अगुवाहरूको थियो ।

जेनजीका प्रतिनिधिहरूले पक्राउ पर्न बाँकी रहेका आरोपितलाई पक्राउ गर्ने मिति तोकिदिन आग्रह गरे पनि प्रमुख जिल्ला अधिकारी मिश्रले सार्वजनिक रूपमा हिँडिरहेका व्यक्तिहरूलाई पक्राउ गर्न निर्देशन भइसकेको बताउँदै लुकेर बसेकालाई पक्राउ गर्न मिति तोक्नु उपयुक्त नहुने प्रतिक्रिया दिनुभयो । 

छलफलमा बाराका प्रमुख जिल्ला अधिकारी धर्मेन्द्रकुमार मिश्र, जीतपुरसिमरा उपमहानगरपालिकाका प्रमुख राजन पौडेल, जिल्ला प्रहरी कार्यालय बाराका प्रमुख एसपी सन्तोष तामाङ, सशस्त्र प्रहरी, राष्ट्रिय अनुसन्धान तथा नेपाली सेनाका जिल्ला प्रमुखहरू को सहभागिता रहेको थियो भने प्रदर्शनकारीको तर्फबाट जेनजी अगुवा सुदन गुरुङ, सम्राट उपाध्याय, कपिल खरेल लगायत सहभागी रहनुभएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button