सुरक्षण मुद्रण केन्द्रले छापेका लाइसेन्स यातायात व्यवस्था विभागलाई हस्तान्तरण
काठमाडौँ । सुरक्षण मुद्रण केन्द्र (सेक्युरिटी प्रिन्टिङ प्रेस) ले पहिलो पटक छपाइ गरेको सवारी चालक अनुमतिपत्र (लाइसेन्स) यातायात व्यवस्था विभागलाई हस्तान्तरण गरेको छ ।
क्युआर कोडसहितको लाइसेन्सको परीक्षण सफल भएसँगै केन्द्रका कार्यकारी निर्देशक देवराज ढुङ्गानाले आज यातायात व्यवस्था विभागका सूचना तथा प्रविधि निर्देशक केशव खतिवडालाई लाइसेन्स हस्तान्तरण गर्नुभएको हो ।
पहिलो चरणमा केन्द्रले पाँच सय २० थान लाइसेन्स हस्तान्तरण गरेको छ । दोस्रो चरणको करिब एक हजार २०० आवेदकको तथ्याङ्क केन्द्रलाई प्राप्त भएको र छपाइ निरन्तर भइरहेको छ ।
कार्यकारी निर्देशक ढुङ्गानाले विभागले उपलब्ध गराएको तथ्याङ्कका आधारमा छपाइ तीव्र गतिमा हुने बताउनुभयो । उहाँले छापिएका नयाँ लाइसेन्सको गुणस्तर परीक्षण गरेर विभागलाई उपलब्ध गराइएको बताउनुभयो ।
कार्यकारी निर्देशक ढुङ्गानाका अनुसार पब्लिकमा लाइसेन्स पठाउन उपयुक्त छ वा छैन भन्ने विभिन्न मापदण्ड परीक्षण गरिएको छ । नेपालकै ल्याबमा गरेको परीक्षण सफल भएपछि विभागलाई बुझाइएको हो ।
विभागका निर्देशक खतिवडाले मुद्रण केन्द्रबाट लाइसेन्स प्राप्त भएसँगै ठुलो समस्या समाधान भएको उल्लेख गर्नुभयो । उहाँले भन्नुभयो, “संस्थाको समस्या समाधान भएको छ, हामी हर्षित छौँ । विभागमा विगत चार÷पाँच वर्षदेखि लाइसेन्सको समस्या थियो । पछिल्लो पटक सुरक्षण मुद्रण केन्द्रसँग सम्झौता गरेर लाइसेन्स प्राप्त भएको छ । यस कार्यलाई निरन्तरता दिइनेछ ।”
लाइसेन्स छपाइका लागि केन्द्र र विभागबिच गत कात्तिक १२ गते सम्झौता भएको थियो । जसअनुसार केन्द्रले छ महिनाभित्र १२ लाख थान लाइसेन्स विभागलाई उपलब्ध गराउनुपर्नेछ । विभागले वैकल्पिक सफ्टवेयर बनाएर दैनिक दुई हजार तथ्याङ्क केन्द्रलाई उपलब्ध गराउन सकिने जनाएको छ । एक महिनाभित्र नयाँ सफ्टवेयर विकास गरिने विभागको भनाइ छ ।
काभ्रेपलाञ्चोकको पनौती नगरपालिका–५ मा रहेको सुरक्षण मुद्रण केन्द्रको भवनमा गत कात्तिक २१ गतेदेखि लाइसेन्स छपाइ सुरु भएको थियो ।
सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेलले केन्द्रमा रहेको प्रिन्टिङ प्रेसको बटन थिचेर लाइसेन्स छपाइको शुभारम्भ गर्नुभएको थियो ।
केन्द्रका कार्यकारी निर्देशक ढुङ्गानाले विभागसँगको सम्झौताअनुसार सुरुको तीन महिना एक लाखका दरले तीन लाख र बाँकी तीन महिनामा नौ लाख गरी १२ लाख लाइसेन्स छपाइ गरिनेछ । केन्द्रले लाइसेन्सका अलावा केही दिनभित्रै हुलाक टिकट छपाइ सुरु गर्ने तयारी गरेको छ । त्यसपछि नागरिकता, अन्तःशुल्क स्टिकर, लालपुर्जा र भिसा स्टिकर छपाइ गर्नेछ ।
केन्द्रबाट छपाइ हुने कार्डमा चिप्सको सट्टा क्युआर कोड प्रयोग गरिएको छ । यसमा उच्चस्तरको सुरक्षा प्रणाली रहेका छन् । नयाँ कार्डमा छ तहसम्म सुरक्षा प्रविधि प्रयोग हुनेछ । कार्डमा ३४ प्रकारका सुरक्षा विशेषता रहनेछन्, जसमा केही दृश्य र केही अदृश्य रहनेछन् ।








प्रतिक्रिया राख्नुहोस्