एनपिएल : सुदूरपश्चिमद्वारा पोखरासामु १९४ रनको लक्ष्य प्रस्तुत

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपिएल)को जारी खेलमा सुदूरपश्चिम रोयल्सले पोखरा एभेन्जर्ससामु जितका लागि १९४ रनको लक्ष्य प्रस्तुत गरेको छ ।
कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालामा पहिला टस हारेर ब्याटिङको निम्तो पाएको सुदूरपश्चिमले निर्धारित २० ओभरमा सात विकेट गुमाउँदै १९३ रन बनायो ।
सुदूरपश्चिमका लागि जोश ब्राउनले ३५ बलमा छ चौका र पाँच छक्काको मद्दतले सर्वाधिक ६८ रनको योगदान गरे । यसैगरी विनोद भण्डारीले ४३, क्रिस लिनले ३१ र कप्तान दीपेन्द्रसिंह ऐरीले १५ रन बनाए ।
पहिलो विकेटका लागि ब्राउन र विनोदले १०८ रनको शतकीय साझेदारी गरे । पोखराका लागि जिम्मी निशमले तीन र ड्यानियल डाउथवेट र आकाश चन्दले दुई /दुई विकेट लिए ।
दीपेन्द्रसिंह ऐरीको कप्तानीमा रहेको सुदूरपश्चिम लगातार दोस्रो जितको खोजीमा छ । उसले यसअघि काठमाडौँ गोर्खाजमाथि २९ रनको जित निकाल्दै सुखद सुरूआत गरेको थियो । कुशल भुर्तेलको कप्तानीमा रहेको पोखरा दोस्रो खेल खेल्दै छ । पहिलो खेल विराटनगर किङ्ससँग पराजित भएको पोखरा आजको खेल जित्ने दाउमा छ ।
नेपाल क्रिकेट सङ्घको आयोजनामा मङ्सिर १ गतेदेखि सुरु भएको प्रतियोगितामा आठ टोली सहभागी छन् ।








प्रतिक्रिया राख्नुहोस्