तपाईँ सुन्दै हुनुहुन्छः

सिमरामा स्थानीय प्रशासन र जेनजी अगुवाहरूबीच छलफल सुरु 

वीरगञ्ज  । बाराको सिमरा घटना साम्य पार्नका लागि स्थानीय प्रशासन र जेनजी अगुवाहरूबीच छलफल सुरु भएको छ ।

बुधवारदेखि तनावग्रस्त बनेको सिमरा घटना साम्य पार्न जेनजी अगुवाहरूसँग आज अपराह्न ४ बजेबाट छलफल सुरु भएको बाराका प्रमुख जिल्ला अधिकारी धर्मेन्द्रकुमार मिश्रले जानकारी दिनुभयो । 

बाराको पथलैयास्थित सशस्त्र प्रहरी बल नेपाल प्राविधिक तालिम शिक्षालयमा छलफल सुरु भएको हो ।

जिल्ला प्रशासन कार्यालय बाराले बिहीबार नै प्रदर्शनकारीलाई औपचारिक वार्तामा आउन आग्रह गरेको थियो । तर उनीहरूले सिमरा आसपास क्षेत्रमा वार्ता हुनुपर्ने माग राखेका थिए ।

प्रजिअ मिश्रले जिल्ला सुरक्षा समिति र जेनजी अगुवाहरूबीचको आपसी असमझदारी हटाउन पनि दुवै पक्षबीच छलफल हुन लागेको बताउनुभयो । छलफलले आपसी असमझदारी हटाउन सहयोग पुग्ने विश्वास छ ।

जेनजीहरूको उजुरीका आधारमा स्थानीय प्रशासनले तीन जनालाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ । जसमा जितपुर सिमरा उपमहानगरपालिकाका एमालेबाट निर्वाचित दुई जना वडाध्यक्ष र अर्का एक स्थानीय एमालेका युवा नेता रहेका छन् ।

बुधवार एमाले नेता–कार्यकर्ताले केही जेनजी युवालाई कुटपिट गरेपछि चर्किएको विवादको कारण दुई दिनदेखि सिमरा क्षेत्र अशान्त छ ।

कफ्र्यू आदेशसमेत अवज्ञा गर्दै जेनजी युवाले बुधवार र बिहीबार दिनभरि नै वीरगञ्ज–पथलैया सडक खण्डको सिमरा चोकमा टायर बालेर प्रदर्शन गरेका थिए ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button