तपाईँ सुन्दै हुनुहुन्छः

जेनजी आन्दोलनपछि रोकिएको नापी सेवा पुनः सञ्चालन

बाँके। जेनजी आन्दोलनका क्रममा नापी कार्यालय बाँकेमा भएको तोडफोड र आगलागीका कारण रोकिएको नापी सेवा पुनः सुरु भएको छ। लामो समयदेखि सेवा अवरुद्ध हुँदा समस्यामा परेका सर्वसाधारणले अब आफ्नो काम अघि बढाउन पाउने भएपछि राहत महसुस गरेका छन्।

आन्दोलनका क्रममा कार्यालय भवनदेखि लिएर धेरै महत्वपूर्ण प्राविधिक अभिलेख तथा कागजात जलेर नष्ट भएका थिए। यही कारण केही सेवा तत्क्षण सञ्चालन गर्न नसकिने कार्यालयले जनाएको छ। तथापि, जनतासँग प्रत्यक्ष सम्बन्धित सेवा प्राथमिकताका साथ सुचारु गर्न प्रयास भइरहेको बताइएको छ।

कार्यालयका निमित्त प्रमुख राजेन्द्र थापाका अनुसार डिजिटल प्रणाली (NILS र डिजिटल डाटा) मा सुरक्षित रहेका अभिलेखका आधारमा अधिकांश सेवा सहज रूपमा सञ्चालन हुनेछन्। तर दुवै प्रणालीमा दर्ता नभएका पुराना कागजातसँग सम्बन्धित सेवामा केही समय लाग्ने उहाँले बताउनुभयाे ।

“हामी क्षतिबाट बिस्तारै उठ्दैछौं। जनताको काम रोकिन नदिई सकेसम्म चाँडो सेवा सामान्य बनाउने प्रयास गर्दैछौं,” थापाले भन्नुभयाे।

नापी सेवा—जस्तै बारी–खेत नाप, जग्गा नाप, नामसारी, कित्ताकाटका लागि दैनिक कार्यालय धाइरहेका सेवाग्राहीका लागि ‘कार्यालय फेरि खुलेको’ सूचना नै ठूलो राहत बनेको छ। आन्दोलनका बीच कागजात जलेको देखेर आफ्नो काम कहिले अघि बढ्ला भन्ने चिन्तामा रहेका धेरै नागरिक अहिले ढुक्क भएका छन्।

कार्यालयले सेवाग्राहीलाई आवश्यक कागजातसहित तोकिएको मितिदेखि सेवा लिन उपस्थित हुन आग्रह गरेको छ। साथै, जलेका अभिलेख पुनः तयार गर्ने, डेटा पुनः संरचना गर्ने र भवन मर्मतसँगै सेवा पूर्ण रूपमा पहिलेकै गतिमा ल्याउने प्रयास जारी रहेको पनि जनाएको छ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button