तपाईँ सुन्दै हुनुहुन्छः

लिफ्ट खानेपानीले निरन्तरता पाउन नसक्दा बागलुङको जैमिनीमा खानेपानीको समस्या

बागलुङ । लिफ्ट खानेपानीले निरन्तरता पाउन नसक्दा बागलुङको जैमिनी नगरपालिका स्थित अर्जेवाको सुम्सा गाउँमा खानेपानीको समस्या भएको छ ।

वि.सं.२०७६ मा बागलुङको जैमिनी नगरपालिका–६ अर्जेवास्थित सुम्सागाउँमा लिफ्टमार्फत ‘एक घर एक धारा’ पुर्‍याइएको भए पनि निरन्तरता पाउन नसक्दा सुम्सा गाउँमा खानेपानीको समस्या भएको हो ।

कालीगण्डकीको पानीलाई लिफ्टमार्फत गाउँका एक सय ३२ घरमा खानेपानी वितरण भएपछि खुसी भएका स्थानीयवासी अहिले समस्यामा परेका छन् । प्राविधिक गडबडी, बाढी पहिरो र चट्याङका कारण घरको धारामा पानी आउन नसकेको सुस्सावासीको भनाइ छ । घरको धारा हेरेर गाग्रीमा पानी बोक्नुपर्ने अवस्था आएको स्थानीय कोपिला थापाले बताउनुभयो । 

वि.सं. २०७६ मा नेवा, जैमिनी नगरपालिका र स्थानीयको जनसहभागितामा ८३ लाख खर्चेर सम्पन्न गरिएको आयोजनामा पटक पटक समस्या आएपछि स्थानीय चिन्तित भएका छन् ।

सुम्सा खानेपानी तथा स्वास्थ्य सरसफाइ आयोजनाका सचिव लालमाया पुनले आयोजना सम्पन्न भइसकेपछि तीन पटक समस्या आइसकेको बताउनुभयो । उहाँले पहिराले मुहानको संरचना बगाएपछि बनाएको भए पनि पछिल्लो समय पहिरोका कारण खानेपानीको पाइप बगाउँदा पुनः समस्या भएको बताउनुभयो ।

आयोजनामा समस्या आएपछि नगरपालिकाले ४ लाख ६५ हजार खर्चेर मर्मत गरी चलाएको भए पनि अहिले पुनः समस्या भएको जैमिनी नगरपालिकाका प्रमुख नरबहादुर पुनले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button