तपाईँ सुन्दै हुनुहुन्छः

भेरी अस्पतालमा डायलाइसिस सेवा विस्तार, तर जनशक्ति अभावले २४ घण्टा सञ्चालन सम्भव भएन

बाँके। नेपालगन्जस्थित भेरी अस्पतालमा थप चार डायलाइसिस मेसिन सञ्चालनमा आएपछि मिर्गौला पीडितको उपचार सहज बनेको छ। सेवा विस्तारसँगै अस्पतालको दैनिक क्षमता १८ बाट बढेर ३० जनामा पुगेको छ।

यसअघि ६ मेसिनमार्फत तीन सिफ्टमा १८ जनाको मात्र डायलाइसिस हुने गर्थ्यो। अहिले १० मेसिन सञ्चालनमा आएपछि त्यही संरचनामा दैनिक ३० जनाले सेवा पाउने भएका छन्। आपतकालीन डायलाइसिस सेवा पनि व्यवस्थित गरिएको अस्पतालले जनाएको छ।

डायलाइसिस विभाग प्रमुख तथा मिर्गौला रोग विशेषज्ञ डा. पारस श्रेष्ठका अनुसार, मेसिन थपिएसँगै भीड र लामो पालोमा बस्नुपर्ने समस्या धेरै घटेको छ। सेरोपोजिटिभ (हेपाटाइटिस वा एचआईभी संक्रमित) बिरामीका लागि छुट्टै दुई मेसिन राखिएकाले संक्रमण नियन्त्रणमा सुविधा भएको छ।

तर, सेवाको दायरा बढे पनि करिब १८ जना बिरामी अझै पालोमै छन्। डा. श्रेष्ठ भन्छन्, “मेसिन थपिएको राम्रो हो, तर प्रभावकारी सेवा दिन दक्ष जनशक्ति अभाव अहिलेको ठूलो चुनौती हो। जनशक्ति बढेमा २४ घण्टै सेवा दिन सकिन्छ।”

स्वास्थ्य सेवा विभागबाट प्राप्त तीन मेसिन र अस्पतालले मर्मत गरी तयार पारेको एक मेसिन थपिएपछि सेवा विस्तार सम्भव भएको हो। नेपालगन्ज र आसपासका जिल्लाबाट बढ्दो मिर्गौला रोगीको चाप व्यवस्थापनमा यो विस्तार महत्वपूर्ण राहत बनेको छ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button