सिमरामा कर्फ्यू आदेश राति ८ बजेसम्म कायमै

वीरगंज । बाराको जीतपुरसिमरा उपमहानगरपालिका क्षेत्रमा उत्पन्न तनावपूर्ण परिस्थितिलाई मध्यनजर गर्दै जिल्ला प्रशासन कार्यालय बाराले आज दिउसो १२ः३० बजेदेखि जारी गरेको कर्फ्यू आदेश राति ८ बजे सम्म कायमै रहेको छ ।
कर्फ्यू कायमै रहेको भएपनि पूर्व पश्चिम राजमार्ग र त्रिभुवन राजपथ हुँदै सञ्चालित यातायात वीरगंजको गण्डक र पथलैयाको बारामा दिउँसो देखि अलपत्र परेका सवारी साधन र सयौँ यात्रुहरूलाई गन्तव्य तर्फ पुर्याउन अहिले साँझ ६ बजे देखि दुवै राजमार्गमा यातायात सुचारु गरिएको जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी उपरीक्षक सन्तोष तामाङले जानकारी दिनुभयो ।
सिमरा विमानस्थल आसपास क्षेत्रमा जेनजी युवाहरूको प्रदर्शन र राजनीतिक दलसँग आवद्ध समूहबीच झडप बढ्दै गएपछि सुरक्षा जोखिम रोक्न जिल्ला प्रशासन कार्यालय बाराले कर्फ्यू आदेश जारी गरेको थियो ।
स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६(क) र ६(ख) बमोजिम आज २०८२।०८।०३ गते दिउँसो १२ः३० बजेदेखि बेलुका ८ः०० बजेसम्म कर्फ्यु लागू हुनेछ । कर्फ्यू अवधिभर तोकिएको क्षेत्रमा आवत–जावत, भेला, जुलुस, प्रदर्शन, सभा, बैठक, घेराउ लगायत कुनै पनि गतिविधि पूर्णरूपमा निषेध गरिएको छ ।
स्थानीय प्रशासनले कर्फ्यु लागू क्षेत्रमा गण्डक नहरदेखि पथलैया सडक खण्ड राजमार्गको दायाँ–बायाँ ५०० मिटर क्षेत्रभित्र, तथा सिमरा विमानस्थल वरिपरि ५०० मिटर क्षेत्र रहेको छ ।
प्रशासनका अनुसार सरकारी तथा निजी सम्पत्तिमा क्षति हुन नदिन, सुरक्षाकर्मी र कर्मचारीको सुरक्षालाई प्राथमिकता दिँदै तथा परिस्थिति थप जटिल नबनोस् भन्ने उद्देश्यले कर्फ्यू आदेश जारी गरिएको जनाइएको छ ।
बाराको जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर–२ सिमरा चोकमा आज बिहान जेनजी युवा समूह र नेकपा (एमाले) कार्यकर्ताबीच झडप भएको थियो ।
झडपको क्रममा जेनजी समूह बाराका संयोजक सम्राट उपाध्याय घाइते भएको र प्रदशंनकारीको ढुंगामुडाको कारण नेपाल प्रहरी तर्फ ५ जना घाइते भएको बाराका प्रहरी उपरीक्षक तामाङले बताउनुभयो ।
बिहान करिब १०ः३० बजे एमाले महासचिव शङ्कर पोखरेल र नेता महेश बस्नेत बुद्ध एयरमार्फत सिमरा आइपुग्ने जानकारी सार्वजनिक भएपछि जेनजी समूहले विरोध प्रदर्शन सुरु गरेको थियो । सो क्रममा प्रदर्शनकारी र एमाले कार्यकर्ताहरू बिच झडप भएको थियो ।
स्थानीयका अनुसार झडपका क्रममा एमालेले तयार गरेको स्वागत द्वार जेनजी समूहले च्यातेर भत्काइदिएका छन् । घटनापछि सिमरा विमानस्थल क्षेत्रदेखि मुख्य चोकसम्म सुरक्षा व्यवस्था थप कडा बनाइएको छ ।









प्रतिक्रिया राख्नुहोस्