तपाईँ सुन्दै हुनुहुन्छः

मुस्ताङ भन्सार कार्यालयबाट दुई महिनामा सात अर्ब ३६ करोडको माल वस्तु आयात

मुस्ताङ । यहाँस्थित मुस्ताङ भन्सार कार्यालयबाट दुई महिनाको अवधिमा रु सात अर्ब ३६ करोड ५८ लाख ६१ हजार बराबरको माल वस्तु चीनबाट आयात गरिएको छ । 

रसुवागढी नाका र तातोपानी नाका गत असार र भदौ महिनामा बाढी पहिरोका कारण अवरुद्ध बनेपछि (नेपाल—चीन) लोमान्थाङ-२ न्हेचुङस्थित मुस्ताङ भन्सार कार्यालयलाई विकल्पका रूपमा ३० भदौदेखि प्रयोगमा ल्याइएको थियो । 

भन्सार विभागले यहाँको कोरलास्थित मुस्ताङ भन्सारलाई वैकल्पिक नाकाका रूपमा प्रयोग गरे लगत्तै पूर्ण रूपमा मुस्ताङ भन्सार कार्यालयलाई गतिशील तुल्याएको हो । 

नेपाल—चीन कोरला नाकाबाट मङ्सिर मसान्तसम्ममा रु सात अर्ब ३६ करोड बढीको माल वस्तु आयात हुँदा सयौँ विद्युतीय सवारीसाधनका साथै इलेक्ट्रोनिक सामान, लत्ताकपडा र विद्युतीय उपकरणहरू कोरला नाकाबाट भित्रिएको भन्सार प्रमुख रमेश खड्काले जानकारी दिनुभयो ।

यसैगरी कोरला नाकाबाट चीनतर्फ रु आठ करोड ३८ लाख ६३ हजार बराबरको हस्तकलाका सामान नेपालबाट भन्सार जाँच पास भई निर्यात भएको भन्सार प्रमुख खड्काको भनाइ छ । 

मुस्ताङ भन्सार कार्यालयले दुई महिनाको अवधिमा चीनबाट रु सात अर्ब ३६ करोडको समान आयात र आठ करोड ३८ लाख बढीको सामान चीनतर्फ निर्यात गर्दा रु तीन अर्ब ६२ करोड ६९ लाख बढी बढी राजस्व सङ्कलन गरेको भन्सार प्रमुख खड्काले बताउनुभयो ।

यहाँको भन्सार कार्यालयबाट ३० भदौदेखि ३० मङ्सिर सम्ममा एक हजार ७२६ वटा विद्युतीय सवारी चीनबाट कोरलानाका हुँदै भन्सार जाँच पास भई गन्तव्यतर्फ पठाइएको छ । 

यसैगरी उत्तरी कोरलानाकास्थित चिनियाँ भन्सारबाट पैठारी भएका  ८९७ वटा मालवाहक ढुवानीका साधनहरू भन्सार जाँच पास भई गन्तव्यतर्फ लागेको भन्सार प्रमुख खड्काको भनाइ छ । 

नेपालबाट भने मुस्ताङ भन्सार कार्यालयमा जाँच पास भएर ५४ वटा मालवाहक ढुवानीका साधनहरू निकासी भएको कार्यालयले जनाएको छ । रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button