तपाईँ सुन्दै हुनुहुन्छः

पर्सागढीमा नेपाली सेनाद्वारा निःशुल्क स्वास्थ्य शिविर

६ सय भन्दा बढी स्थानीय बासी लाभान्वित

वीरगञ्ज । ब्रिटिस फौज (सेना)लाई गोर्खाली सेनाले हराएको ऐतिहासिक युद्ध स्थल पर्साको पर्सागढीमा नेपाली सेनाले निःशुल्क स्वास्थ्य शिविर आयोजना गरेको छ ।

वीरगन्जस्थित नेपाली सेनाको श्रीजंग गणले आइतबार पर्सागढी नगरपालिका वडा नम्बर ६ मा अवस्थित ऐतिहासिक युद्ध स्थलमा आयोजना गरेको निःशुल्क स्वास्थ्य शिविरबाट महिला र पुरुष गरी ६ सय भन्दा बढी स्थानीयबासी लाभान्वित भएका छन् ।

आज भन्दा करिब २ सय १० वर्षअघि अर्थात् विक्रम संवत् १८७१ पुस १९ गते पर्सागढीमा स्थानीय रंजित चौधरीको कुशल युद्ध नीति तथा स्थानीयवासीको सक्रियतामा आधुनिक हतियारले सुसज्जित ब्रिटिस भारतका विशाल सेनालाई पराजित गरेर गोर्खाली सेनाले ऐतिहासिक विजय हासिल गरेको थियो ।

त्यही ऐतिहासिक विजयको स्मरण गर्दै सेनाले निःशुल्क स्वास्थ्य शिविर आयोजना गरेको श्रीजंग गण वीरगन्जका गणपति एवं प्रमुख सेनानी लोकेन्द्र कार्कीले बताउनुभयो । स्वास्थ्य सेवा पाउन कठिनाइ भोग्दै आएका स्थानीय बासिन्दालाई लक्षित गरी सञ्चालन गरिएको शिविरमा करिब ६ सयभन्दा बढी मानिसले अर्थोपेडिक, छाती तथा स्त्रीरोग सम्बन्धी स्वास्थ्य परीक्षण गराएको उहाँले बताउनुभयो । स्वास्थ्य परीक्षणपछि आवश्यक औषधि पनि निःशुल्क वितरण गरिएको कार्कीले जानकारी दिनुभयो । 

गाउँका अधिकांश नागरिक समयमै स्वास्थ्य सेवा लिन चिकित्सकको सम्पर्कमा पुग्न नसक्ने अवस्थालाई ध्यानमा राखेर शिविर आयोजना गरिएको बताउँदै प्रमुख सेनानी कार्कीले  जनता र सेनाबीचको आपसी सम्बन्धलाई अझ प्रगाढ बनाउने उद्देश्यले स्वास्थ्य शिविरको आयोजना गरिएको दाबी गर्नुभयो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button