एकीकृत सुरक्षा योजना २०८२ स्वीकृत
काठमाडौँ । राष्ट्रिय सुरक्षा समितिको आज बसेको बैठकले आगामी फागुन २१ गते हुने निर्वाचनलाई लक्षित गरी एकीकृत सुरक्षा योजना २०८२ स्वीकृत गरेको छ ।
गृह मन्त्रालयमा बसेको बैठकले निर्वाचन लक्षित सुरक्षा चुनौतीहरूको विश्लेषण गरी सुरक्षा संवेदनशीलताका आधारमा सुरक्षाकर्मी परिचालन गर्ने गरी एकीकृत सुरक्षा योजना स्वीकृत गरेको बैठकपछि गृह मन्त्रालयका प्रवक्ता आनन्द काफ्लेले जानकारी दिनुभयो ।
गृहमन्त्री ओमप्रकाश अर्यालको अध्यक्षतामा बसेको राष्ट्रिय सुरक्षा समितिको बैठकले निर्वाचनको सुरक्षाका लागि नेपाली सेना परिचालन गर्न रक्षा मन्त्रालयमार्फत राष्ट्रिय सुरक्षा परिषद् समक्ष सिफारिस गर्ने निर्णय गरेको छ ।
यस्तै बैठकले निर्वाचन सुरक्षालाई लक्षित गरी सबै प्रदेशमा प्रदेश स्तरीय सुरक्षा गोष्ठी गर्ने, हिंसा भड्काउने तथा शान्ति सुरक्षामा खलल पुर्याउने गतिविधिहरू निरुत्साहित गर्न कडाइका साथ कानूनी कारबाही अगाडि बढाउने लगायतका निर्णयहरू भएको गृह मन्त्रालयका प्रवक्ता एवं सहसचिव आनन्द काफ्लेले जानकारी दिनुभयो ।
गृहमन्त्रीको अध्यक्षतामा गठन हुने राष्ट्रिय सुरक्षा समितिमा गृह र रक्षा मन्त्रालयका सचिवहरू तथा चारवटै सुरक्षा निकायका प्रमुख एवं प्रतिनिधिहरू रहने कानूनी व्यवस्था छ ।








प्रतिक्रिया राख्नुहोस्