तपाईँ सुन्दै हुनुहुन्छः

रौतहटका चार स्थानीय तहले अझ ल्याउन सकेनन् बजेट 

रौतहट । रौतहट जिल्लाका चार स्थानीय तहले हालसम्म बजेट ल्याउन सकेका छैनन् । जिल्लाको कटहरिया नगरपालिका, देवाही गोनाही नगरपालिका, फतुवा विजयपुर नगरपालिका र यमुनामाई गाउँपालिकाले आर्थिक वर्ष २०८२/८३ का लागि अहिलेसम्म बजेट ल्याउन नसकेका हुन् ।

स्थानीय तह सञ्चालन ऐन, २०७४ अनुसार गाउँ तथा नगर कार्यपालिकाले प्रत्येक वर्ष असार १० गतेभित्र अनुमानित आय–व्यय सहितको बजेट सभामा पेस गर्नुपर्छ र असार मसान्तभित्र पारित गर्नुपर्ने व्यवस्था छ । 

बजेट ढिलाइ हुनुका मुख्य कारण वडागत सिलिङ बाँडफाँडमा देखिएको विवाद र नेतृत्वबिचको समन्वय अभाव रहेको प्रमुख प्रशासकीय अधिकृतहरूले बताउनुभयो ।

कटहरिया र फतुवा विजयपुरमा वडाध्यक्षहरूले बजेट रकम वितरणमा असन्तुष्टि जनाएपछि कार्यपालिका बैठकहरू पटक–पटक स्थगित गर्नुपरेको कार्यवाहक नगर प्रमुख अम्बया खातुनले जानकारी दिनुभयो।

यस्तै, देवाही गोनाही र यमुनामाई गाउँपालिकामा प्रमुख र उपप्रमुखबिच योजना छनोट तथा प्राथमिकता निर्धारणको विषयमा मतभेद देखिएको छ ।

कतिपय स्थानीय तहले घाटा बजेट बनाउँदै आएका छन् भने अनुमानअनुसार राजस्व सङ्कलन नहुँदा बजेटको सिलिङ घट्ने समस्या देखिएको अधिकारीहरूले जनाउनुभयो। कमजोर राजस्वका कारण चालु खर्च र विकास खर्च समायोजन गर्न कठिनाइ भएकोसमेत बताइएको छ ।

बजेट नल्याउने स्थानीय तहका लागि राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले दिने समानीकरण अनुदान कटौती हुनसक्ने व्यवस्था छ । बजेट पारित नगरी कुनै पनि खर्च गर्नु गैरकानुनी हुने र त्यस्ता खर्च ‘बेरुजु’मा पर्ने भएकाले सम्बन्धित स्थानीय तह कानुनी कारबाहीको दायरामा पर्न सक्ने जानकारहरू बताउँछन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button