हिउँदे अधिवेशनमै भूमि ऐन टुङ्गोमा पुग्छ : मुख्यमन्त्री आचार्य
दाङ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले भूमिसम्बन्धी ऐन अब हिउँदे अधिवेशनमै टुङ्गोमा पुग्ने गरी तयारी भइरहेको बताउनुभएको छ ।

आइतबार मुक्त कमैया समाज, कमैया महिला जागरण समाज र मुक्त कमलहरी विकास मञ्चको संयुक्त प्रतिनिधिमण्डलसँग मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय राप्ती उपत्यका (देउखुरी)मा भएको छलफलमा उहाँले ऐन निर्माणको प्रक्रिया अघि बढिसकेको जानकारी दिनुभयो ।
उहाँका अनुसार भूमि ऐनको मस्यौदा तयार भइसकेको छ र सरोकारवाला सबै पक्षसँग छलफल गरेर सुझावका आधारमा अन्तिम रूप दिने तयारी छ ।मुख्यमन्त्री आचार्यले सबैको भावना समेटेर भूमि सम्बन्धी कानुन बन्ने स्पष्ट पार्नुभएको छ ।
प्रतिनिधिमण्डलका सदस्यहरूले भूमि ऐन ल्याउने सरकारी पहलप्रति खुशी व्यक्त गर्दै सबै समुदायको भावना समेटिने व्यवस्था गर्न सुझाव दिएका छन् । मुक्त कमैया समाजका अध्यक्ष पशुपति चौधरी, कमैया महिला जागरण समाजकी अध्यक्ष कृषणी थारु कुमाल र मुक्त कमलहरी विकास मञ्चकी अध्यक्ष हिरा चौधरीले भूमि अधिकारसँगै शिक्षा, स्वास्थ्य, रोजगारी, उद्यमजस्ता आधारभूत विषय पनि कानुनमार्फत सुनिश्चित गर्न आवश्यक रहेको धारणा राख्नुभयो ।
मुक्त कमैया समाजका अध्यक्ष चौधरीले पुनर्स्थापना पर्खिरहेका छुट कमैयाका पक्षमा स्पष्ट नीति आवश्यक रहेको बताउनुभयो । मुक्त कमलहरी विकास मञ्चकी अध्यक्ष हिरा चौधरीले पुनर्स्थापना हुन बाँकी मुक्त कमलहरीका लागि जीवनयापनमा सहयोग पुग्ने स्पष्ट नीति बनाउन आग्रह गर्नुभयो ।








प्रतिक्रिया राख्नुहोस्