तपाईँ सुन्दै हुनुहुन्छः

गोरखामा १ हजार २४ मतदाता थपिए

गोरखा । फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि मतदाता नामावलीमा नाम समावेश गर्न आव्हान भएसँगै गोरखामा मतदाता परिचय पत्र बनाउनेहरू थपिने क्रम जारी रहेको छ । 

यहाँ शुक्रवारसम्म थप १ हजार २४ जनाले मतदाता परिचय पत्र बनाएको जिल्ला निर्वाचन कार्यालय गोरखाका सूचना अधिकारी रविलाल सुवेदीले जानकारी दिनुभयो । 

यसअघि जिल्लाका दुई वटा निर्वाचन क्षेत्रमा २ लाख २१ हजार ९८१ मतदाता रहेका थिए । यहाँ कुल २२२ मतदान केन्द्र रहेको छ । मतदाता परिचयपत्र बनाउन आउनेहरू विशेष गरी युवाहरू धेरै रहेको सूचना अधिकारी सुवेदीले बताउनुभयो । 

निर्वाचनलाई धाँधलीरहित र निष्पक्ष बनाउन जिल्लाका सरोकारवालाहरुबीच निरन्तर छलफल भइरहेको छ । निर्वाचन केन्द्र थप गर्ने, निर्वाचन केन्द्रमा जाने बाटोहरू व्यवस्थित गर्ने, निर्वाचन केन्द्र नजिक हेलिप्याड निर्माण गर्ने लगायतका कामका लागि स्थानीय तहहरूलाई जिम्मेवारी दिइएको गोरखा जिल्लाका प्रमुख जिल्ला अधिकारी तुलसीलाल श्रेष्ठले बताउनुभयो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button