तपाईँ सुन्दै हुनुहुन्छः

चितवनमा पहिलो पटक रोबोटिक सर्जरी सेवा सुरु 

चितवन । चितवन मेडिकल कलेज (सिएमसी) शिक्षण अस्पतालले रोबोटिक सर्जरी सेवा सुरु गरेको छ ।  

काठमाडौँ बाहिर रहेर अत्याधुनिक स्वास्थ्य सेवा भित्र्याउँदै आएको सिएमसीले नेपालमै दोस्रो रोबोटिक सर्जरी सेवा सुरु गरेको हो ।

रोबोटिक तथा युरो सर्जन डा.प्रतीकमान सिंह गुरुङ, जिआइ सर्जनहरू डा.विशाल आचार्य र डा.रोहितकुमार मिश्रको नेतृत्वमा रोबोटिक सर्जरी सुरु गरिएको छ । अस्पतालमा हालसम्म १४ वटा रोबोटिक सर्जरी सफल भइसकेको अस्पतालले जनाएको छ ।

रोबोटिक तथा युरो सर्जन डा.गुरुङका अनुसार यसअघि गरिने म्यानुअल  शल्यक्रिया र दूरबिन प्रविधिबाट गरिने शल्यक्रियाभन्दा रोबोटिक शल्यक्रिया धेरै आधुनिक र प्रभावकारी हुने गर्दछ । उहाँले भन्नुभयो,  “रोबोटिक सर्जरी चिकित्सा विज्ञानको एउटा अत्याधुनिक प्रविधि हो । यसले शल्यक्रिया चाँडो , प्रभावकारी, बिरामीलाई कम पीडा दिने र शत प्रतिशत रिजल्ट राम्रो पाएका छौँ ।”

चिकित्सकले प्रत्यक्ष रूपमा हातले नभई कम्प्युटरद्वारा नियन्त्रण हुने रोबोटिक हातहरूका माध्यमबाट शल्यक्रिया गरिने उहाँले स्पष्ट पार्नुभयो । यस प्रविधिले जटिल तथा संवेदनशील शल्यक्रियामा बढी प्रभावकारी रहने युरो सर्जन डा.गुरुङले बताउनुभयो । 

उहाँका अनुसार कम रक्तस्राव, छिटो निको हुने अवसर प्रदान गर्ने यस प्रविधिबाट विशेष गरी युरोलोजी, गाइनकोलोजी, कार्डियोथोरासिक र क्यान्सर सर्जरीमा प्रयोग उल्लेखनीय रूपमा बढी भएको छ । 

मेडिकल कलेजका प्रमुख प्रशासक प्रताप देवकोटाले यहाँ भित्रिएको रोबोट माइक्रोपोर्ट कम्पनीले बनाएको ‘टुमाइ’ नामक रोबोटिक प्रणाली भएको जानकारी दिनुभयो  । देवकोटाका अनुसार  ३२ करोड लागतमा यो प्रविधि भित्र्याइएको हो । उहाँले भन्नुभयो, “यो प्रविधि चाइनामा निर्मित युरोपियन सेफ्टी ‘सर्टिफिकेशन’ पास गरेको छ, जसले यसको उच्च सुरक्षा मापदण्ड पुष्टि गर्दछ ।” बिशेषगरी साना देखि ठूला शल्यक्रिया र यस सुविधाको लागि विदेश जान नपरोस भन्ने हेतुले अस्पतालले यो प्रविधि भित्र्याएको उहाँको भनाई छ । 

रोबोटीक सर्जरी सेवा सुरु गरेको अवसरमा शनिवारदेखि रोबटिक सर्जरी कन्फ्रेन्स आयोजना गर्न लागिएको उहाँले बताउनुभयो  ।

कन्फ्रेन्समा भारतबाट वरिष्ठ स्त्री तथा प्रसुती रोग विशेषज्ञ डा प्रियंका भात्रा, डा.विरेन्द्र भगतलगायत नेपालबाट समेत गरी २०० जना सहभागी हुनेछन् । 

कार्यक्रममा नेपालका जीआई सर्जन, युरो सर्जन, स्त्रीरोग विशेषज्ञ, अंको सर्जन, एनेस्थेसियोलोजिष्ट, जनरल सर्जन तथा रेजिडेन्टहरु र नर्सहरू सहभागी हुने बताइएको छ । कन्फ्रेन्समै ‘लाइभ रोबटिक सर्जरी’ पनि हुने देवकोटाले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button