रवि–छवि मुद्दामा सर्वोच्चको मिसिल झिकाउन आदेश

रुपन्देही । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र पूर्व डिआइजी तथा तत्कालीन गोर्खा मिडियाका सञ्चालक छविलाल जोशीको मुद्दामा मिसिल झिकाउने आदेश भएको छ । उहाँहरू सहकारी ठगीसम्बन्धी अभियोगमा पुर्पक्षका लागि थुनामा रहनुभएको छ ।
आज उच्च अदालत तुलसीपुर बुटवलमा न्यायधीशद्वय वासुदेव आचार्य र ओमप्रसाद अर्यालको संयुक्त इजलासले मिसिल झिकाउने (थप प्रमाण) आदेश गरेको अदालतका सूचना अधिकारी रामबहादुर कुँवरले जानकारी दिनुभयो ।
यसअघि कात्तिक २० गते यसै अदालतबाट प्रमाण मिसिल झिकाउने आदेश भएको थियो । लामिछाने र जोशीको मुद्दाको सुनुवाइका क्रममा गत बिहीबार अदालतले मूल मुद्दाको मिसिल झिकाउने आदेश दिएको थियो ।
आज लामिछानेका तर्फबाट अधिवक्ताहरू नारायणदत्त कँडेल, महेन्द्र पाण्डे र दीपेन्द्र झाले बहस गर्नुभएको थियो भने सरकारी वकिलको कार्यालयका तर्फबाट उच्च सरकारी वकिल कार्यालय, बुटवलका महान्यायाधिवक्ता सन्देश श्रेष्ठ र महान्यायाधिवक्ता प्रकाश मरासिनीले बहस गर्नुभएको थियो ।
बुटवलको सुप्रिम सहकारी ठगीको मुद्दामा पुर्पक्षका लागि थुनामा रहेका लामिछानेले सहकारीमा अपचलन गरेको आफ्नो भागको बिगो बुझाएर थुनामुक्त हुन पाऊँ भन्दै जिल्ला अदालत रुपन्देहीमा निवेदन दिनुभएको थियो । उच्च अदालत तुलसीपुर बुटवल इजलासमा आजका लागि तोकिएको पेसी एक नम्बर इजलासको क्रम सङ्ख्या एकमा रहेको थियो ।
बुटवलको सुप्रिम सहकारी ठगीमा लामिछानेसहितका प्रतिवादीलाई १० करोड ९९ लाख ३६ हजार रुपैयाँ सामूहिक बिगो कायम गरेर अभियोग पत्र दायर गरिएको छ । अहिले रवि नख्खु कारागारमा र छवि भैरहवा कारागारमा रहनुभएको छ ।








प्रतिक्रिया राख्नुहोस्