काँग्रेस बागमति प्रदेश समितिको बैठक नगरकोटमा, सम्पूर्ण तयारी पुरा

भक्तपुर । नेपाली काँग्रेस बागमती प्रदेश कार्यसमितिको १३ औँ पूर्ण बैठकको सम्पूर्ण तयारी पुरा भएको छ ।
नेपाली काँग्रेस भक्तपुर जिल्ला समितिले भोली कात्तिक २८ र २९ गते भक्तपुरको पर्यटकीय क्षेत्र नगरकोटमा हुने बैठकको तयारी पुरा भएको जानकारी दिएको हो ।
काँग्रेस जिल्ला सभापति दुर्लभ थापाले यस बैठकले जेनजी आन्दोलन पछिको नेपाली काँग्रेस बागमती प्रदेशको धारणा बाहिर आउने भन्नुहुँदै पार्टीको केन्द्रीय कमिटी बैठक सम्पन्न भएन भने उक्त बैठकलाई समेत सुझाव दिने गरी बैठकले निर्णय सार्वजनिक गर्ने बताउनुभयो ।
जिल्ला सभापति थापाले भन्नुभयो, “काँग्रेसले केही गरेको छैन भन्ने धारणा बोकेका पार्टीका केही नेताहरूलाई हामी सुतेका छैनौ, वडा वडामा, नगरपालिका र जिल्ला स्तरमा निरन्तर कार्यक्रम गरिरहेका छौँ, बागमती प्रदेश सभाको बैठक पनि भक्तपुरमै आयोजना गर्दैर्छौ , महत्त्वपूर्ण निर्णय सार्वजनिक गर्छौ ।”
प्रदेशको बैठकपछि काँग्रेसलाई एक ढिक्का बनाएर लैजाने सन्देश दिन नेपाली काँग्रेस भक्तपुरले छिट्टै ७७ वटै जिल्लाका काँग्रेस जिल्ला सभापतिहरूको भेला पनि भक्तपुरमै गर्ने तयारी गरेको उहाँले बताउनुभयो ।
जिल्ला सभापति थापाले धमिलो पानीमा माछा मारेर नेतृत्व हत्याउला भन्ने मनसायले महामन्त्रीहरूले महाधिवेशनको नाममा चलखेल गरेर पार्टीमा अस्थिरता ल्याउन खोजेको भन्दै पार्टी नेतृत्वमा जान हतार गर्नुभन्दा पहिला पार्टी बलिया बनाउन लाग्नुपर्ने बताउनुभयो ।
उहाँले यस्तो अवस्थामा नगरकोटमा सम्पन्न हुने प्रदेशको पूर्ण बैठकले पार्टीको आधिकारिक धारणा सार्वजनिक गर्ने बताउनुभयो ।
चुनावबाट काँग्रेस कहिल्यै नभाग्ने बताउँदै उहाँले शान्तिपूर्ण रूपमा चुनाव गर्न सक्ने वातावरण र सुरक्षाको प्रत्याभूति सरकारले दिनुपर्ने उहाँले बताउनुभयो ।पत्रकार भेटघाट कार्यक्रममा काँग्रेस बागमती प्रदेशको पूर्ण बैठक आयोजना समितिका संयोजक कृष्णलाल भँडेलले पार्टीका बागमती प्रदेश सभापति इन्द्र बानियाँको सभापतित्वमा हुने बैठकको पार्टीका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले उद्घाटन गर्ने बताउनुभयो ।
उहाँले बैठकमा प्रदेश समितिका १३० जना सदस्य, ३७ जना पार्टीका प्रदेश सभा सदस्य, १३ जिल्लाका १३ जिल्ला सभापतिहरू, गरी १८० जनाको सहभागिता रहने बताउनुभयो ।
उहाँले बिहान ११ बजे मध्यपुर थिमिको शखधर साख्वाःको शालिकमा परिक्रमा गरी दुईभन्दा बढीको मोटरसाइकल र्याली गरी नगरकोट बसपार्कबाट कार्यक्रम स्थलसम्म धिमे लगायतका बाजाहरू, सांस्कृतिक झाकीहरुसहित कार्यक्रम स्थल पुगेर उद्घाटन गरिने बताउनुभयो ।








प्रतिक्रिया राख्नुहोस्